‘हेटौंडा साइकल रन’ दोश्रो संस्करण २०८० को उपाधि आशिषलाई
मकवानपुर- ‘हेटौंडा साइकल रन’ दोश्रो संस्करण २०८० को उपाधि आशिष थापा मगरले हात पारेका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार भएकाे रन प्रतियाेगितामा सहभागीलाई पछि पार्दै उपाधि हेटौंडा–६ का आशिषले हात पारेका हुन् ।
प्रथम भएका आशिषले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौंडा–६ का हरेराम राई द्वितीय हुँदा, हेटौंडा–२ का विबै सिं मोक्तान तृतीय स्थान बनाउन सफल भए । यसैगरी हेटौंडा–४ का राजिव ठाकुर र प्रदिप थापाले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । साइकल रनमा द्वितीय भएका राईले ३० हजार, तृतीय भएका मोक्तानले २० हजार हात पारेका छन् । प्रतियोगितामा ठाकुर र थापाले प्रोत्साहन पुरस्कार स्वरूप ५/५ हजार रुपैयाँ हात पारेका आयाेजकले जनाएकाे छ ।
यसैगरी प्रतियोगितामा सहभागी भएका महिलाहरूलाई प्रोत्साहन स्वरूप २/२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएकाे थियाे । हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साइकल रन कान्तिलोकपथ हुँदै शिवम सिमेन्ट रोड, हेटौंडा–फापरवारी सडक हुँदै नागश्वती, कमाने, गर्दोही हुँदै हुप्रचौरमा आइपुगेको थियो । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र हेटौंडा उपमहानगरपलिकाका नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै समन्वय समितिका प्रमुख घलानले स्वास्थ्यका लागि साइकल यात्रा उपयोगी रहेकाले दैनिक जीवनमा विलासितामा साधन छोडेर साइकल यात्रामा जोड दिन जरुरी रहेको बताए । उनले उपमहानगरले थालेको अभियानलाई सार्थक बनाउन नगरवासीको सहयोग आवश्यक रहेको भन्दै नियमित साइकल यात्राले मानव जीवनमा फाइदा पुग्ने बताए ।
उपमहानगरपालिकाले गत वर्षबाट प्रतियोगिताको सुरुवात गरेको हो । उपमहानगरले नगरवासीलाई साइकलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्य अनुसार प्रतियोगिता सञ्चालन गर्दै आएको जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया