खेलकुद

टि-२० विश्वकप छनोट- सन्दीप फर्किएसँगै टिम बलियो भएको रोहितको दाबी

इकागज |
कात्तिक १२, २०८० आइतबार १२:३५ बजे

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको खेल सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुन लागेको हो । नेपाल रहेको समूह ’ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ । खेल अघि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक र कप्तानले विश्वकप एसिया क्षेत्र छनोट नेपालका लागि अवसर भएको र आफूहरु उत्साहित रहेको बताएका छन् ।


खेलअघि आइतबार टियु मैदान किर्तिपुरमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक मोन्टी देसाईले नेपालले केही समयदेखि लगातार खेल खेलिरहेको र कमीकमजोरीहरु सुधार गर्दै अघि बढेको बताए । उनले प्रत्येक खेलमा छुट्टाछुट्टै रणनीतिका साथ अघि बढ्ने जानकारी दिए ।

त्यस्तै कप्तान रोहित पौडेलले यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई अबको खेलमा दोहरिन नदिने बताए । उनले सन्दीप लामिछाने समावेश भएसँगै टिम व्यालेन्स र बलियो भएको जिकिर गरे ।

नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।
 


Author

थप समाचार
x