खेलकुद

'विदेशी स्टारबिना पनि आईपीएलका बाँकी खेल हुन्छन्'

इकागज |
जेठ १७, २०७८ सोमबार १८:४२ बजे

काठमाडौँ: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ का बाँकी खेल संयुक्त अरब इमिरेट्स (युएई) मा हुने निश्चित भइसकेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएल आयोजना स्थलको टुङ्गो लगाउँदा, अन्य प्रश्नको उत्तर भने दिन सकेको छैन । जस्तै, खेल तालिका, समर्थक रंगशालामा जान पाउने/नपाउने, विदेशी खेलाडीको उपस्थिती आदि । 

अन्तराष्ट्रिय क्रिकेट तालिका आइपीएलको तालिका जुध्ने निश्चित जस्तै छ । यस्तोमा बेन स्टोक्स, जोस बट्लर, सिटभ स्मिथ जस्ता विदेशी खेलाडी आईपीएल खेल्न युएई नपुग्न सक्छन् । तर विदेशी स्टारबिना पनि आईपीएलका बाँकी खेल आयोजना गरिने बीसीसीआईका उपाध्यक्ष राजिब शुक्लाले प्रष्ट पारेका छन् । विदेशी खेलाडीको सहभागितामाथि भन्दा प्रतियोगिता सम्पन्‍न गर्नेतर्फ आफूहरूको ध्यान रहेको शुक्लाको भनाइ थियो । 


‘हामीले विदेशी खेलाडीको सहभागिताबारेमा पनि छलफल गरेका छौ । तर हाल हाम्रो ध्यान आइपीएलका बाँकी खेल कसरी सम्पन्न गर्न सकिन्छ भनेतर्फ नै छ । केही विदेशी खेलाडी उपलब्ध नहुन सक्छन् । तर भारतीय खेलाडी हुन्छन् । त्यसकारण हामी प्रतियोगिता सम्पन्न गर्नतर्फ लागिरहेका छौ,’ शुक्लाले दुबईको अखबार खलिज टाइम्ससँग कुरा गर्दै भनेका छन् । उपलब्ध नहुने विदेशी खेलाडीका स्थानमा आईपीएलका फ्रेन्चाइज टिमले नयाँ खेलाडी अनुबन्ध गर्ने शुक्लाको भनाइ थियो ।   

आईपीएल पुनः सुरु हुँदा रंगशालामा समर्थकलाई प्रवेश गर्न दिइन्छ/दिइदैन भन्‍ने प्रश्नमा शुक्लाको जवाफ थियो, ‘यसबारेमा हामी युएईसँग कुरा गर्नेछौँ । निर्णय युएईबाट जवाफ आएपछि हुन्छ । उनीहरूले जे भन्छन् हामीले त्यही गर्नुपर्ने हुन्छ,’ 

आईपीएलको खेल तालिकाबारेमा भन्ने निर्णय भइनसकेको शुक्लाको भनाइ थियो । बीसीसीआईका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह र आईपीएल प्रमुख ब्रिजेश पटेल युएई पुगेपछि छलफल गरिने र खेल तालिका सार्वजनिक हुने शुक्लाले जानकारी दिए । 


Author

थप समाचार
x