दक्षिण एसियाली कराते च्याम्पियनसिप हुँदै
फाइल तस्बिर
काठमाडौँ- सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल कराते महासंघको आयोजनामा आगामी मंसिर १६ गतेदेखि ६ राष्ट्रले प्रतिष्पर्धा गर्ने दक्षिण एसिया कराते च्याम्पियनसिप हुन लागेको हो ।
यस किसिमको च्याम्पियनसिप २५ वर्षपछि आयोजना गर्न लागेकाले यो आयोजनाबाट नेपाली करातेको गरिमा अझ बढाउने आयोजकको विश्वास छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै च्याम्पियनसिपबारे जानकारी दिएको हो । नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुई दिने च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए ।
प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ । च्याम्पियनसिपमा क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी चार विधामा कुल तीन सय ५३ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । महासंघका महासचिव दावा गुरुङले कुल ६२ स्वर्णका लागि प्रतिष्पर्धा हुने जानकारी दिए । यस क्रममा क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ । नेपालबाट भने ६८ खेलाडीले सबै स्पर्धामा चुनौती प्रस्तुत गर्ने भएका छन् ।
नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको छ । गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमीमा कुमुते टोली र बौद्ध डोजामा काता टोलीले तयारी गरिरहेका छन् । महासंघका अध्यक्ष लामाले प्राविधिक रूपमा यो प्रतियोगिता आयोजना गर्नुपर्ने बंगलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराते महासंघ (एकेएफ) ले स्वीकृति दिएको जानकारी दिए । एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ (डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ ।
च्याम्पियनसिपका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुनेछ । आयोजकले प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताअघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराते एकेडेमी हलमा हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया