खेलकुद

मधेश प्रदेशले जित्यो केपी ओली कप

इकागज |
मंसिर १५, २०८० शुक्रबार २१:५४ बजे

अन्नपूर्ण (कास्की)- मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । 

आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पायो । 


पहिले ब्याटिङ गरेको मधेसले आर्मीलाई एक सय ३६ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य भेटाउने क्रममा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २४ मात्र बनाउन सक्यो । 

आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५, भीम सार्कीले २२, सोमपाल कामी र सन्तोष कार्कीले १६–१६ रन बनाए । रोहित पौडेलले पाँच, राजेश बुढामगरले तीन, बसिर अहमदले दुई रन जोड्नु हुँदा कुशल मल्ल शून्य रनमा आउट भए । 

बलिङतर्फ मधेसका कप्तान हरिशङ्कर साहले सर्वाधिक चार विकेट लिए । प्रदीप पासवानले दुई र प्रतीक यादवले एक विकेट हात पारे । टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशङ्कर शाहले २७, हिमान्सु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोडेका थिए । पवन सराफले नौ, इम्रान शेखले आठ, अनिल शाह छ, प्रदीप पासवानले चार, मायन यादवले तीन रन बनाएका थिए । 

बलिङतर्फ आर्मीका साहव आलम र विवेक यादवले तीन–तीन, सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिए । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ बनेको मधेश प्रदेशका हरिशङ्कर शाहले रु ३० हजार प्राप्त गरे । 

प्रतियोगिताभर १० विकेट लिएका बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने ‘बेस्ट बलर’ चुनिए । बागमती प्रदेशकै रित गौतम ‘बेस्ट ब्याट्सम्यान’ बने । उनीहरूले रु २०–२० हजार पुरस्कार प्राप्त गरे । 


Author

थप समाचार
x