खेलकुद

पहिलो संस्करणको टेबल टेनिस लिग मंगलबारबाट

इकागज |
मंसिर १७, २०८० आइतबार १६:३६ बजे

काठमाडौँ- स्टेज ग्लोबल च्याम्पियन्स टेबल टेनिस लिगको सिजन वान आगामी मंगलबारबाट सुरु हुने भएको छ । लिग मंसिर २३ गतेसम्म काठमाडौँको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने आयोजक स्टेज च्याम्पियन्स टेबल टेनिस एकेडेमीले जनाएको हो ।

अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रम आयोजना हुने टेबल टेनिस लिगलाई कन्सेप्ट मेकर्जले व्यवस्थापन गर्दैछ ।


लिगको मुख्य प्रायोजक स्टेज ग्लोबल प्रा. लि, इन्डियाले आवश्यकता पर्ने टेबल टेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किटसहित अन्य सामग्री उपलब्ध गराउने आयोजकले आइतबार एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

त्यसैगरी, सह-प्रायोजकमा मेटल सेपरले लिगको रनिङ ट्रफी र कुल अनुमानित बजेटको १५ प्रतिशत रकम (दुई लाख पचासी हजार रुपैयाँँ) प्रदान गर्नेछ ।

यता समाजसेवी सुमन खङ्गीले एक लाख रुपैयाँ सहयोग गर्ने तथा अनर मोबाइल कम्पनीले २ वटा मोबाइल उपलब्ध गराउने भएको छ ।

पाँच दिनसम्म चल्ने लिगमा तीन विभागीय टोली (नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी बल) सहित एभिएम टेबल टेनिस क्लब, कान्तिपुर भ्याली पिङ पोङ क्लब, नगाउँ स्पोर्ट्स क्लब, गड स्पिन टेबल टेनिस एकेडेमी, ज्ञानभैरव दिल्लीबजार टेबल टेनिस क्लब र आयोजक स्टेज च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरी जम्मा ९ टिमले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख रुपैयाँँसहित रनिङ ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुने टिमले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् । सेमिफाइनलमा पराजित दुवै टिमले समान पचास हजार रुपैयाँँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन् ।


Author

थप समाचार
x