खेलकुद

भारतका पाँच क्रिकेटर, जसको इंगल्यान्ड यात्रा अन्तिम हुनसक्छ

इकागज |
जेठ २१, २०७८ शुक्रबार १६:२३ बजे

काठमाडौँ: भारतीय क्रिकेट टिमले सन् २००७ यता इंगल्यान्डमा टेस्ट श्रृंखला जित्न सकेको छैन । सन् २०१४ र २०१८ दौरान भएका भ्रमणमा भारतले सफलता हासिल गर्न सकेन । त्यसकारण, अगस्ट ४ बाट सुरु हुने श्रृंखलामा भारत इंगल्यान्डविरुद्ध हाबी हुन चाहन्छ ।  

इंगल्यान्ड भ्रमणमा सकारात्मक नतिजा निकाल्ने ध्येयमा रहेको भारतीय टिमका कतिपय खेलाडीका लागि भने त्यस भ्रमण आफ्नो करियरकै अन्तिम हुनसक्छ । ती खेलाडी प्रतिभाशाली भएपनि अधिकांश उमेरका कारण अन्तराष्ट्रिय करियरको उत्तरार्द्धमा छन् । त्यसकारण पनि ३० कटेका ती खेलाडीका लागि यसपटकको इंगल्यान्ड भ्रमण विशेष हुनेछ । सन् २०१४ यता घरमा कुनै पनि श्रृंखला नहारेको इंग्लिस टिमलाई पराजित गर्ने लक्ष्यमा हुनेछन्, ती खेलाडी । 


भारतीय टिमका ती पाँच खेलाडीबारेमा यहाँ चर्चा गरिएको छ : 

चेतेश्वर पुजारा 

पछिल्ला चार वर्षमा भारतीय टेस्ट टिमले जे जती सफलता हासिल गरेको छ, त्यसमा चेतेश्वर पुजाराको भूमिका उल्लेख्य छ । दायाँ हाते ब्याट्सम्यान पुजाराले निरन्तर सन्तोषजनक प्रदर्शन गरेका छन् । टिम अफठ्यारो अवस्थामा हुँदा उच्च स्कोरको योगदान गरेका छन् । त्यसकै नतिजा हो, ८५ टेस्ट खेल्दा पुजराले ६ हजार २४४ रन बनाएको । जसमा १८ शतक पनि सम्मिलत छ । हाल ३३ वर्षका रहेका पुजाराले सन् २०१८ मा इंगल्यान्ड भ्रमणमा रहेको भारतीय टिमका लागि दुई सय ७८ रन बनाएका थिए । 

पुजाराको लय पछिल्लो समय केही खस्केको छ । भारतमै भएको इंगल्यान्डविरुद्धको टेस्टमा पनि पुजाराले सन्तोषजनक खेल देखाउन सकेका थिएनन् । तर भारतीय टिममा उनको महत्व सकिएको भने होइन । यद्यपि यसपटकको इंगल्यान्ड भ्रमण उनका लागि अन्तिम हुनसक्छ । भारतले इंगल्यान्डको अर्को भ्रमण गर्दा पुजराको लय छनौटकर्ताको नजरमा पर्ने किसिमको नहुन सक्छ । 

अजिंक्या रहाने 

अजिंक्या रहाने भारतीय टेस्ट टिमका उप-कप्तान हुन् । पछिल्ला वर्षमा उनले देखाएको खेलले प्रशंसा बटुलेको छ । खेलका हिसाबले मात्रै होइन, उनको तारिफ टिममा नेतृत्वदायी भूमिका खेलेकोमा पनि हुँदै आएको छ । कप्तान विराट कोहलीको अनुपस्थितीमा रहानेले भारतीय टिमको नेतृत्व गर्ने गरेका छन् । गत जनवरीमा अस्ट्रेलियामा प्राप्त सफलतामा पनि रहानेको नेतृत्वदायी भूमिका निर्णयक रह्यो ।

तर पछिल्लो समय रहानेले स्थिर खेल देखाउन सकेका छैनन् । त्यसो त विगतका इंगल्यान्ड भ्रमणमा पनि रहानेको ब्याटिङ स्थिर थिएन । ३३ वर्षिय दायाँ ब्याट्सम्यानले सन् २०१४ का इंगल्यानड भ्रमणमा ३३.२२ ओभर खेलेर २९९ रन बनाएका थिए भने चार वर्षपछि उनले २५.७० ओभरमा २५७ रन बनाउन सके । विगतमा इंग्लिस भूमिमा रहानेको प्रदर्शन जे जस्तो भएपनि उनी भारतीय टेस्ट टिमका अनुभवी खेलाडी हुन् । त्यसकारण उनी प्रति समर्थकको भरोसा छ । यद्यपि भारतले अर्को पटक इंगल्यान्डको भ्रमण गर्दा उनी टेस्ट टिममा पर्ने सम्भावना न्यून छ । 

रविचन्द्र आश्विन  

रविचन्द्र आश्विन आजको समयमा उत्कृष्ट अफ-स्पिनर मानिन्छन् । उनी जस्तो सुकै परिस्थतीमा पनि आफ्नो जिम्मेवारीमा खरो उत्रन्छन् । भारत र इंगल्यान्डबीचको पछिल्लो टेस्ट भिडन्तमा आश्विनको प्रदर्शन सम्झनलायकको रहेको थियो । विशेषगरी बेन स्टोक्सलाई आश्विनले रोक्न सफल भएका थिए । त्यति मात्रै होइन, उनले दोस्रो टेस्टमा शतक प्रहार गर्न पनि भ्याए । यस्तो लाग्छ, आश्विन हाल आफ्नो करियरको उत्कर्षमा छन् ।

भारतले सन् २०१८ मा इंगल्यान्डको भ्रमण गर्दा आश्विनलाई चार टेस्टमा उपयोग गरियो । ती खेलमा उनले कुल ११ विकेट लिए । आश्विन फेरि पनि इंगल्यान्डमा आफ्नो जादु देखाउने प्रयासमा हुनेछन् । आश्विन हाल ३४ वर्षका भए । पूर्व अस्ट्रेयन बलर ब्राड होगले आश्विन अरु आठ वर्ष खेल्न सक्ने बताउछन् । तर आश्विनको फिटनेस आगामी वर्षहरूमा खस्किदै जाने अनुमान गर्न सकिन्छ । त्यसकारण उनी भविष्यमा भारतको टेस्ट टिमको हिस्सा नबन्न सक्छन् ।   

हनुमान बिहारी 

हनुमान बिहारी भारतीय टिमको पहिलो एघारमा पर्ने खेलाडी होइनन् । यद्यपि उनको उपयोगिता भन्ने सकिएको छैन । बिहारीले भारतीय टिमबाट १२ टेस्ट खेलिसकेका छन् । यद्यपि २७ वर्षिय ब्याट्सम्यानले बलिया टिमविरुद्ध खासै बलियो खेल देखाउन सकेका छैनन् । त्यसो त बिहारीले आफ्नो टेस्ट करियर इंगल्यान्ड भ्रमणबाटै सुरु गरेका थिए । डेब्यु खेलमा उनले अर्धशतक प्रहार गरेक थिए । बिहारीको करियर उत्तरार्द्ध पुगिसकेको छैन । तर नियमित रुपमा मौका नपाउँदा उनले भारतीय टिमका लागि बलियो प्रदर्शन नगर्न सक्छन् । जसका कारण भारतले फेरि इंगल्यान्ड फर्कदा बिहारी त्यस टिमको हिस्सा नबन्‍न सक्छन् । 

इशान्त शर्मा 

इशान्त शर्माको खेलमा शंका गर्ने ठाउँ छैन । उनी भारतीय टेस्ट टिमका भरपर्दो बलर हुन् । तर यहाँसम्म आइपुग्न शर्माले कम मेहेनत गर्नु परेको छैन । कयौँ वर्ष उनी उपेक्षामा परे । तर आफ्नो खेलमा सुधार गर्दै शर्माले भारतीय टेस्ट टिममा स्थान बनाएका छन् । उनले भारतका लागि एक सय भन्दा बढी टेस्ट खेलिसकेका छन् । भारतका पछिल्ला तीन इंगल्यान्ड भ्रमणमा ३२ वर्षीय पेसरले क्रमशः ११, १४ र १८ विकेट लिएका थिए । शर्मा पछिल्लो समय चोटले सताइएका छन् । बढ्दो उमेरले उनको फिटेनसमा पनि समस्या खडा गर्ने पक्का छ । त्यसकारण यसपटकको भ्रमण नै उनका लागि अन्तिम इंगल्यान्ड भ्रमण हुने सम्भावना धेरै छ ।   


Author

थप समाचार
x