खेलकुद

महिला क्रिकेटः एपीएफको लगातार तेस्रो जित, मधेशको निराशाजनक प्रदर्शन

इकागज |
पुस ८, २०८० आइतबार १३:५३ बजे

काठमाडौँ- पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित हात पार्दा मधेश प्रदेशको खराब प्रदर्शन जारी राखेको छ ।

मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । यता तीन खेल खेलेको लुम्बिनी प्रदेशको भने यो दोस्रो पराजय हो ।


आइतबार एपीएफले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनमात्र जोड्न सक्यो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपीएफका लागि इन्दु बर्माले सर्वाधिक ३ तथा बिनु बुढाले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५१ रन जोड्यो । एपीएफका लागि इन्दु बर्माले ५१ बलमा अविजित ७० रन बनाउँदा ७ चौका र १ छक्का प्रहार गरिन् । यता ममता चौधरीले ५९ रन जोडिन् ।

इन्दु र ममताले दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी गरेका थिए ।

यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पाखा लगायो । जारी प्रतियोगितामा कोशी प्रदेशको पनि यो लगातार तेस्रो जित हो । मधेश प्रदेशको भने यो लगातार तेस्रो पराजय हो ।

कोशीविरुद्ध १ सय ३० रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा केवल ६९ रनमात्र बनाउन सक्यो ।

मधेशका लागि साना प्रविणले २७ रन तथा आरती महतोले १८ रन जोडे । कोशीका लागि सबनम राई र आलिशा खडियाले समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ४ विकेट गुमाएर १ सय २९ रन बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ५७ रन तथा अप्सरी बेगमले ३९ रनको योगदान गरे ।

मधेशका लागि मिना महतोले सर्वाधिक २ विकेट हात पारिन् ।


Author

थप समाचार
x