खेलकुद

सूर्य नेपाल गल्फ : साविक विजेता दिनेश प्रजापति क्वार्टरफाइनलमा

इकागज |
पुस ११, २०८० बुधबार १७:४१ बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो दिन साविक विजेता दिनेश प्रजापति क्वार्टरफाइनलमा प्रवेश गर्दा दोस्रो वरीयताका नीरज तामाङ पहिलो चरणबाटै बाहिरिएका छन् ।

दिनेशसँगै पहिलो वरीयताका भुवन नगरकोटी, चौथो वरीयताका जयराम श्रेष्ठ, पाँचौँ वरीयताका सञ्जय लामा, छैटौँ वरीयताका रबि खड्का, सातौं वरीयताका रामे मगर, नवौं वरीयताका भुवन कुमार रोक्का र १५ औँ वरीयताका प्रदीपकुमार लामा पहिलो चरणको खेल जित्दै अन्तिम आठमा प्रवेश गरेका छन् ।


रोयल नेपाल गल्फ क्लबमा म्याच प्ले फर्म्याटमा भएको प्रतियोगितामा साविक विजेता तथा तेस्रो वरीयताका दिनेश प्रजापतिले अनुभवी गल्फर तोरण विक्रम शाहीलाई प्रतिस्पर्धात्मक खेलमा १८ औँ होलमा पराजित गरे । उनले अब क्वार्टरफाइनलमा छैटौँ वरीयताका रबि खड्कासँग प्रतिस्पर्धा गर्नेछन् । रबि खड्काले भने ११ औँ वरीयताका रमेश अधिकारीलाई ३/२ ले माथ दिँदै अन्तिम आठमा स्थान पक्का गरे ।

पहिलो वरीयताका भुवन नगरकोटीले १६ औँ वरीयताका रामकृष्ण श्रेष्ठलाई ५/४ को सहज नतिजामा हराए । भुवनले बिहीबार नवौं वरीयताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रुपमा पाएका छन् । भुवनकुमार रोक्काले भने आठौं वरीयताका धनबहादुर थापालाई १८ औँ होलमा पराजित गरे ।

दोस्रो वरीयताका नीरज तामाङ भने अप्रत्याशित रूपमा पहिलो चरणबाटै बाहिरिएका छन् । धरानका प्रो नीरजलाई १५ औँ वरीयताका प्रदीपकुमार लामाले कडा चुनौती मात्र दिएनन्, उनले १८ औँ होलमा खेल जित्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरे । प्रदीपले अब सातौं वरीयताका रामे मगरको सामना गर्नेछन् । भेट्रान प्रो रामे मगरले आज १० औँ वरीयताका सूर्यप्रसाद शर्मालाई ४/३ ले हराए ।

चौथो वरीयताका जयराम श्रेष्ठले सबैभन्दा सहज जित दर्ज गरे । उनले १३ औँ वरीयताका दीपक मगरलाई ७/६ ले पराजित गरे । जयरामले अन्तिम ८ मा पाँचौँ वरीयताका सञ्जय लामासँग प्रतिस्पर्धा गर्नेछन् । सञ्जयले १२ औँ वरीयताका शिवराम पौडेललाई ५/३ को नतिजामा पराजित गरे ।

सिजनको कुल आठ मध्ये यो प्रतियोगितामा गत सिजन‌ अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउने नियम रहेको छ । तर, यसपटक  नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाएनन् । यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले प्रतिस्पर्धा गर्ने मौका पाए । चार खेलाडीले नाम फिर्ता लिँदा १७ औँ वरीयताका दीपक मगर, १८ औँ वरीयताका तोरण विक्रम शाही, १९ औँ वरीयताका प्रदीप कुमार लामा र २०औँ वरीयताका रामकृष्ण श्रेष्ठले सहभागिता जनाए ।

कुल २ लाख ५० हजार नगद पुरस्कार‌ राशीको प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ  खेलाडीहरूले जनही ६/६ हजार प्राप्त गर्नेछन् । क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् । विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश: ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् ।

क्वार्टरफाइनल र सेमिफाइनल खेलहरू बिहीबार हुनेछ । पहिलो चरण, क्वार्टरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको हुनेछ ।


Author

थप समाचार
x