टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध भारतको लज्जास्पद हार
काठमाडौँ- दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले लज्जास्पद हार बेहोरेको छ ।
बिहीबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई एक इनिङ्स तथा ३२ रनले पराजित गरेको हो । यससँगै सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।
पहिलो इनिङ्समा १ सय ६३ रनले पछि परेको भारतले दोस्रो इनिङ्समा १ सय ३१ रनमै सबै विकेट गुमाएपछि एक इनिङ्स र ३२ रनको पराजय भोग्न पुग्यो ।
भारतको दोस्रो इनिङ्समा विराट कोहलीले सर्वाधिक ७६ रन जोडे । दक्षिण अफ्रिकाका लागि नान्द्रे बर्जरले सर्वाधिक ४ तथा मार्को जानसेनले ३ र कागिसो रबाडाले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा २ सय ४५ रन जोड्दा केएल राहुलले १ सय १ रन जोडेका थिए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ५ तथा नान्द्रे बर्जरले ३ विकेट हात पारे ।
दक्षिण अफ्रिकाले भने पहिलो इनिङ्समा ४ सय ८ रन बनायो । दक्षिण अफ्रिकाका लागि डिन इल्गारले १ सय ८५ रनको योगदान गर्दा मार्को जानसेनले ८४ रन बनाए ।
भारतका जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिए ।
दक्षिण अफ्रिका र भारतबीचको दोस्रो तथा अन्तिम टेस्ट खेल जनवरी ३ तारिखबाट केप टाउनमा सुरु हुने तालिका रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया