खेलकुद

आहा रारा पोखरा गोल्डकपको २३ औँ संस्करण माघ ९ देखि

इकागज |
पुस १३, २०८० शुक्रबार ११:५४ बजे

काठमाडौँ- अन्तर-क्लब आमन्त्रित फुटबल प्रतियोगिता 'आहा रारा पोखरा गोल्डकप' को २३ औँ सँस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ ।

सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताका लागि यस वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) बाट समय तालिका प्राप्त भएपछि प्रतियोगिताको तयारी सुरु गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिता पोखरा रङ्गशालामा सञ्चालन हुनेछ ।


प्रतियोगितामा यसपटक विदेशी टोलीहरू, ‘ए’ डिभिजनका क्लबहरू, मोफसलका टोलीहरू र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ ।

गत सँस्करणको उपाधि काठमाडौँको सङ्कटा क्लबले जितेको थियो भने अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब उपविजेतामा सिमित बनेको थियो ।

प्रतियोगिताको पहिलो संस्करणदेखि मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ रहँदै आएको छ ।

यसैगरी, उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङद्वारा प्रायोजन गरिएको छ । ‘म्यान अफ दी म्याच’, ट्रफी, नगद र मेडल, सहारा युकेले सहयोग गर्ने महासचिव अधिकारीले बताए ।

प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ ।

क्लबले विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षादीक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएको छ । क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गरी बालकहरूलाई फुटबल खेल सिकाउँदै आएको छ । हाल चौथो ब्याचको एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन् ।


Author

थप समाचार
x