खेलकुद

कप्तान कमिन्सले १० विकेट लिएपछि अस्ट्रेलियासँग पाकिस्तान ७९ रनले पराजित

इकागज |
पुस १३, २०८० शुक्रबार १३:४३ बजे

काठमाडौँ- घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानविरुद्धको तीन खेलको टेस्ट सिरिज एक खेलअगावै जितेको छ ।

पहिलो खेल ३ सय ६० रनले जितेको अस्ट्रेलियाले शुक्रबार सम्पन्न दोस्रो खेल ७९ रनले जितेको हो । यससँगै अस्ट्रेलियाले सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।


अस्ट्रेलियालाई दोस्रो खेलमा जित दिलाउन कप्तान प्याट कमिन्सले दुवै इनिङ्समा गरी १० विकेट हात पारे ।

दोस्रो खेलमा जितका लागि ३ सय १७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले दोस्रो इनिङ्समा २ सय ३७ रन जोड्दा सबै विकेट गुमाएको थियो ।

दोस्रो इनिङ्समा पाकिस्तानका लागि कप्तान शान मसुदले ६० तथा आघा सलमानले ५० रन बनाएपनि जितका लागि पर्याप्त भएन । अस्ट्रेलियाका कप्तान कमिन्सले ५ तथा मिचेल स्टार्कले ४ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले मार्नस लाबुसेनको ६३ रनको मदतमा पहिलो इनिङ्समा ३ सय १८ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले पहिलो इनिङ्समा २ सय ६४ रन जोड्दा अब्दुल सफिकले ६२ तथा शान मसुदले ५४ रन बनाए । अस्ट्रेलियाका कप्तान कमिन्सले ५ तथा नाथन लायनले ४ विकेट हात पारेका थिए ।

दोस्रो इनिङ्समा भने अस्ट्रेलियाले २ सय ६२ रन बनाउँदा मिचेल मार्सले ९६ रन तथा अलेक्स क्यारीले ५३ र स्टेभेन स्मिथले ५० रन जोडे । पाकिस्तान शाहिन शाह अफ्रिदी र मिर हमजाले समान ४-४ विकेट हात पारे ।


Author

थप समाचार
x