खेलकुद

सूर्य नेपाल गल्फ : एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

इकागज |
पुस १३, २०८० शुक्रबार १७:२५ बजे

काठमाडौँ- चौथो वरीयताका जयराम श्रेष्ठलाई हराउँदै साविक विजेता दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् ।

रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा जयराम श्रेष्ठलाई ६/४ ले हराउँदै दिनेशले उपाधि रक्षा गर्न सफल भएका हुन् । यो सिजन सानदार सुरुवात गरेका दिनेशको करिअरको यो दोस्रो उपाधि हो ।


अनुभवी चौथो वरीयताका जयराम र तेस्रो वरीयताका दिनेशबीच १८ होलसम्म कडा प्रतिस्पर्धा चलेको थियो । नवौँ होलको समाप्तिमा जयराम एक होलले अगाडि थिए । तर १८ होलको समाप्तीमा दिनेशले खेललाई बराबरीमा पुर्याए ।

यसपछि भने दिनेश खेलमा हाबी भए । १९औँ होलमा करिब ३० यार्डबाट दिनेशले बर्डी प्रहार गर्दै एक होलको अग्रता बनाए । २३ औँ होलमा जयरामले पार जोगाउन सकेनन् भने दिनेशले पारमा नै यो होल जितेर दुई होलको अग्रता बनाए । खेलमा फर्कन जयरामलाई जित जरुरी थियो । तर यसपछि २४ देखि २७ होल बराबरीमा सकियो ।

२८ औँ होलमा पार खेल्दै तीन होलको आरामदायी अग्रता दिनेशले बनाए । दबाबमा परेका जयराम खेलमा फर्कन सकेनन् भने ३१ औँ होल पनि दिनेशले नै जित्दा ५ होलको अग्रता बनाए । यसपछि ३२ औँ होलमा खराब टी सट हानेसँगै जयरामले हार आत्मसात गर्दा दिनेशले ४ होल अघि नै उपाधि आफ्नो नाममा लेखाए ।

दिनेशले पहिलो चरणमा तोरण विक्रम शाही, क्वार्टरफाइनलमा रबि खड्का र सेमिफाइनलमा रामे मगरलाई हराएका थिए । उपाधिसँगै दिनेशले नगद ६० हजार प्राप्त गरे । दोस्रो भएका जयरामले ४२ हजार हात पारे । दिनेशले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा प्रोफेसनलतर्फ पहिलो स्थान हात पारेका थिए ।

सातौं वरीयताका रामे मगरले तेस्रो स्थान प्राप्त गरे । उनले १८ होलको प्रतिस्पर्धामा नवौँ वरीयताका भुवन कुमार रोक्कालाई १८ औँ होलमा हराए । रामेले ३२ हजार र भुवनले २४ हजार पुरस्कार हात पारे।

कुल २ लाख ५० हजार  नगद पुरस्कार‌ राशीको प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६/६ हजार प्राप्त गरे । क्वार्टरफाइनलमा पराजित चार खेलाडीले जनही ११ हजार प्राप्त गरे।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रा.लि.का मार्केटिङ म्यानेजर केशव प्रधान, एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, आरएनजीसीका अध्यक्ष मधुकर याक्थुम्बा, आरएनजीसीका क्याप्टेन मिथुन राई र आरएनजीसीका कोषाध्यक्ष रोशन श्रेष्ठले पुरस्कार वितरण गरे ।


Author

थप समाचार
x