महिला राष्ट्रिय क्रिकेटः एपीएफ अपराजित रहँदै प्लेअफमा, सुदूरपश्चिमको पाँचौँ जित
काठमाडौँ- नेपाल एपीएफ क्लबले लगातार सात खेल जित्दै पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ ।
शनिबार भएको लिग चरणको अन्तिम खेलमा एपीएफले बागमती प्रदेशलाई ४७ रनले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । एपीएफले खेलेका सातवटै खेलमा जित हात पार्यो ।
यता प्लेअफमा स्थान सुरक्षित गरिसकेको बागमतीले भने तेस्रो पराजय भोग्यो । बागमतीले यसअघि ४ खेल जित्दै प्लेअफमा स्थान बनाएको थियो ।
शनिबार मुलपानीमा भएको खेलमा एपीएफले दिएको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७९ रनमात्र बनाउन सक्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २६ रन बनाउँदा कप्तान सीता राना मगरले ४४ रनको योगदान गरिन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भने सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २४ रनले पाखा लगायो । अघिल्लो चरण प्रवेश गरिसकेको सुदूरपश्चिम प्रदेशको यो पाँचौँ जित हो ।
प्रतियोगिताबाट बाहिरिसकेको गण्डकीको भने यो पाँचौँ पराजय हो । उसले केवल एक खेलमा मात्र जित हात पारेको छ ।
शनिबार १ सय २८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रनमात्र बनाउन सक्यो । सुमन खतिवडाले ४९ रन बनाएपनि गण्डकीलाई भने जित दिलाउन असफल रहिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया