खेलकुद

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड माघ १२ मा, विजेतालाई ५ वटा मोटरसाइकल

इकागज |
पुस २२, २०८० आइतबार १६:३९ बजे

तस्बिरः एनएसजेएफ

काठमाडौँ- २० औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आगामी माघ १२ गते हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अवार्ड कार्यक्रम माघ १२ गर्ने जनाएको हो ।

एनएसजेएफले जनाएअनुसार विगतमा जस्तै यसवर्ष पनि अवार्डमा विभिन्न ९ विधालाई समावेश गरिएको छ । यस वर्ष पनि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जनर्नालिस्ट अवार्ड प्रदान गरिनेछ  ।


वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने एनएसजेएफका महासचिव प्रज्वल वलीले जानकारी गराए ।

मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जनालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने महासचिव वलीले जनाए ।

यसपटक वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले यस संस्करणको अवार्डको स्वरूपलाई केही परिमार्जन गरिएको बताउँदै उनले अवार्डका लागि मनोनयनको ढाँचा केही परिवर्तन गरिएको जानकारी दिए । तर, यसबारे केही समयपछि जानकारी गराउने उनले बताए ।

स्पोर्टस अवार्ड कार्यक्रमका लागि एनएसजेएफका अध्यक्ष सुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

एनएसजेएफले २०६० सालदेखि नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्दै आएको छ ।

एनएसजेएफ र मुख्य प्रायोजकबीचको सम्झौता नवीकरण

यसैबीच, २० औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले निरन्तरता दिएको छ ।

पत्रकार सम्मेलनकै क्रममा एनएसजेएफका अध्यक्ष सुवेदी र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सुवेदीका अनुसार हंशराज हुलासचन्द कम्पनीले लगातार १५ वर्षदेखि अवार्डलाई प्रायोजन गर्दै आएको बताए ।

यता अभिमन्यूले यस वर्षको अवार्डका लागि ५ वटा पल्सर बाइक प्रायोजनक गरेको तथा त्यसबाहेक १२ लाख रुपैयाँ पनि प्रदान गरिने जानकारी गराए ।


Author

थप समाचार
x