८,६०० माइल यात्रा तय गरेको फ्रेन्च फुटबल क्बलले खायो १२ गोल
काठमाडौँ- फ्रेन्च कप फुटबल प्रतियोगिताअन्तर्गत गत शनिबार गोल्डेन लायन एफसीले फ्रेन्च लिग वान क्लब लिलसँग ठूलो गोलअन्तरको हार बेहोर्यो । खेलमा लिलले गोल्डेन लायनको पोस्टमा १२ गोल गरेको थियो ।
खासमा सानो टापुको राष्ट्र मार्टिनिकको क्लब गोल्डेन लायनका खेलाडी र पदाधिकारीले फ्रेन्च कपअन्तर्गत लिलविरुद्ध खेल्न ८ हजार ६ सय माइलको यात्रा तय गरेको सीएनएनले जनाएको छ ।
लगभग ३ लाख ९६ हजार जनसंख्या क्यारेबियन देश मार्टिनिकको एक सहर सेन्ट-जोसेफको फुटबल क्लब गोल्डेन लायनले छनोट प्रतियोगिताको विजेताको रुपमा फ्रेन्च कप खेल्ने अवसर पाएको थियो ।
खासमा फ्रान्सेली क्षेत्रका विभिन्न क्लबहरूले फ्रेन्च कपमा सहभागिता जनाउन पाउने प्रावधान रहेको छ ।
रोयटर्सले उल्लेख गरेअनुसार सिधा उडानबाट गोल्डेन लायनले गत बुधबार फ्रान्सको पेरिस पुगेको थियो । त्यसपछि बेल्जियम-फ्रान्सको सिमाक्षेत्रमा रहेको उत्तरी सहर लिल पुगेको थियो ।
तर खेल सुरु भएको ११ औँ मिनेटमै लिलले गोल्डेन लायनविरुद्ध सुरुवाती गोल गर्न सफल भएको थियो । युसुफ याजिसीले लिललाई सुरुवाती अग्रता दिलाएका थिए ।
लिलले १२ गोल गर्दा युसुफले २ गोल गरे भने जोनाथन डेभिड र इडोनले ह्याट्रिक पूरा गरे । हाकोन अर्नारले पनि २ गोल गर्न भ्याए । टियागो सान्तोष र अमिने मेसोउसाले १-१ गोल थपे । लिलले इतिहासमै पहिलो पटक १२ गोलअन्तरको जित हात पारेको थियो ।
लिलसँग ठूलोअन्तरको पराजय भोगेपछि गोल्डेन लायनका खेलाडी तथा समर्थकहरुले विरलै पाउने अवसरमा भने मज्जाले रमाएको सीएनएनले जनाएको छ ।
खेलपछि लिलका खेलाडीहरुले गोल्डेन लायनका खेलाडीलाई गार्ड अफ अनरले सम्मान गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया