खेलकुद

आठौँ झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ६ गते

इकागज |
पुस २५, २०८० बुधबार १५:४७ बजे

काठमाडौँ- आठौँ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता नुवाकोटमा माघ ६ गते हुने भएको छ ।

काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा दौड संयोजक मोहन नेपालले प्रतियोगिता माघ ६ गते नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नं. ५ मा आयोजना हुने जानकारी गराएका हुन् ।


प्रतियोगितामा १० विधा समेटिएको छ । प्रतियोगितामा खुल्ला महिला/ पुरुष, स्थानीय पुरुष, भेट्रान खुल्ला पुरुष, खुल्ला जुनियर १६ वर्ष मुनिका छात्रा/छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा/ छात्र, ४५ वर्षमाथिका स्थानीय पुरुष र स्थानीय आमा समूहलाई समेटिएको छ ।

खुल्ला महिला/ पुरुष, स्थानीय पुरुष,भेट्रान खुल्ला पुरुष १३.४ किलोमिटर तथा अन्य ४.५ किलोमिटरको हुनेछ ।

१३.४ किलोमिटरको दौड वडा नं ५ स्थित कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खड्ङ्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुने आयोजकले जनाएको छ ।

खुल्ला महिला/ पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

स्थानीय खुल्लातर्फको विजेतालाई १० हजार, उपविजेतालाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार तथा भेट्रान खुल्ला पुरुषतर्फ पहिलोले ८ हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले ४ हजार पाउने आयोजकले जनाएको छ ।

खुल्ला जुनियर १६ वर्षमुनिका छात्रा/ छात्र, स्थानीय १६ वर्षमुनिका छात्र/रछात्र तथा ४५ वर्षमाथिका स्थानीय पुरुष तर्फका शीर्ष तीनलाई ६ हजार,४ हजार र दुई हजार तथा स्थानीय आमा समूहतर्फको विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो स्थान हासिल गर्नेले ६ हजार प्राप्त गर्नेछन् ।


Author

थप समाचार
x