खेलकुद

स्टार स्पोर्ट्समा यू-१९ क्रिकेट विश्वकप हेर्न पाइने, नेपालले पहिलो खेल न्यूजिल्यान्डविरुद्ध खेल्दै

इकागज |
माघ १, २०८० सोमबार ११:३२ बजे

काठमाडौँ- दक्षिण अफ्रिकाले आयोजना गर्न लागेको आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्स च्यानलले गर्ने भएको छ ।

दक्षिण अफ्रिकाले जनवरी १९ देखि फेब्रुअरी ११ सम्मम यू-१९ क्रिकेट विश्वकप आयोजना गर्दैछ ।


न्यूजपोर्टल क्रिकबजले जनाएअनुसार स्टार स्पोर्ट्सले यू-१९ विश्वकप प्रशारण गर्ने अधिकार पाएको छ । स्टार स्पोर्ट्सले विश्वकपको टेलिभिजन र डिजिटल दुवै अधिकार पाएको हो ।  

यसको अर्थ स्टार स्पोर्ट्स च्यानलसँगै अनलाइन प्लेटफर्म हटस्टारबाट यू-१९ विश्वकपका खेलहरु हेर्न पाइनेछ ।

१६ टिमको सहभागिता रहेको विश्वकपमा जम्मा ४८ खेल हुने तालिका रहेको छ ।

विश्वकपमा साविक विजेता भारतसँगै, आयोजक दक्षिण अफ्रिका, नेपाल, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नामिबिया, न्यूजिल्यान्ड, स्कटल्यान्ड र अमेरिकाले सहभागिता जनाउँदैछन् ।

विश्वकपका लागि नेपाल समूह 'डी' मा रहेको छ । यस समूहमा पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्ड पनि रहेका छन् ।

नेपालले पहिलो खेल न्यूजिल्यान्डविरुद्ध जनवरी २१ मा खेल्ने तालिका रहेको छ । त्यसैगरी, समूह चरणको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध जनवरी २४ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध जनवरी २७ मा खेल्ने तय भएको छ ।


Author

थप समाचार
x