खडक-शेर चम्किएपछि सुदूरको जित, पुलिस विजयी हुँदा सुजनको शतक गयो खेर
काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेका छन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १ सय ३४ रनले पराजित गर्यो ।
जारी प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो ।
मंगलबारको खेलमा २ सय ७८ रनको लक्ष्य पछ्याएको कर्णालीले ३७ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ४३ रनमात्र जोड्न सक्यो ।
कर्णालीका लागि दिवान पुनले सर्वाधिक ३८ रन बनाए । सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ४ तथा विकाश आगरीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनायो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ८०, टेक रावतले ५९ तथा किरण ठगुन्नाले ५० रन बनाए ।
यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्यो । पुलिसले लगातार दोस्रो जित हात पार्दा कोशीको भने यो लगातार तेस्रो पराजय हो ।
पुलिससँग हार्दा कोशीका लागि सुजन थपलियाले बनाएको शतक भने खेर गएको छ ।
सुजनले १ सय २६ बलमा ६ चौका र ८ छक्काको मदतमा १ सय ५ रन बनाउँदा टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४८ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ६६ रन बनायो ।
सोही क्रममा पुलिसका करण केसीले सर्वाधिक ३ तथा ललित राजवंशी र सुनिल धमलाले २-२ विकेट लिए ।
त्यसपछि कोशीले दिएको १ सय ६७ रनको लक्ष्य पुलिसले २३ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । पुलिसलाई जित दिलाउन अर्जुन साउदले अविजित ६२ रन तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ३८ रन बनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया