खेलकुद

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिसमा चीन र भारतका खेलाडीको सहभागिता हुने

इकागज |
माघ ८, २०८० सोमबार १६:४८ बजे

काठमाडौँ- छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा चीन र भारतका खेलाडीको सहभागिता हुने भएको छ ।

आयोजक ललितपुर टेबल टेनिस क्लबले काठमाडौँमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा प्रतियोगितामा चीन र भारतका खेलाडीको सहभागिता हुने जानकारी गरेको हो ।


क्लबका अध्यक्ष उर्दीप जोशीले लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षक केन्द्रमा माघ १६ देखि २० सम्म आयोजना हुने प्रतियोगितामा चीनका दुई महिला खेलाडी तथा भारतका १६ पुरुष र ८ महिला खेलाडीको सहभागिता हुने बताए ।

चीनका खेलाडी शीर्ष एक सय वरीयताका तथा भारतका शीर्ष तीन सयभित्रका हुने आयोजकले जनाएको छ । नेपालसहित प्रतियोगितामा ३ सय ९ खेलाडीको सहभागिता हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिला एकल तथा टिम, पुरुष/महिला भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) तथा छात्र/छात्रा यू-१६ गरी जम्मा ९ विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी गराएको छ ।

पुरुष/महिला एकल तथा टिमतर्फ विजेताले समान ५०/५० हजार तथा उपविजेताले २५/२५ हजार प्राप्त गर्दा सेमिफाइनलमा पराजितले समान १०/१० हजार पाउनेछन् ।

त्यसैगरी, भेट्रान्स र छात्र/छात्रा यू-१६ तर्फको विजेताले जनही २०/२० हजार तथा उपविजेताले १०/१० हजार पाउनेछन् भने सेमिफाइनलमा पराजित हुनेले जनही ५/५ हजार नगद प्राप्त गर्नेछन् ।

यसैबीच, ललितपुर टेबल टेनिस क्लबले सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालिसँग प्रतियोगिताका लागि मुख्य प्रायोजक तथा हस्पिटालिटी पार्टनरको रुपमा नेपाली घर, ठमेलसँग सम्झौता गरेको छ ।

मुख्य प्रायोजकका लागि क्लबका अध्यक्ष उर्दीप जोशी तथा सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

त्यसैगरी, हस्पिटालिटी पार्टनरका लागि क्लबका अध्यक्ष जोशी र नेपाली घरका महाप्रबन्धक राजिव श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।


Author

थप समाचार
x