पुलिसविरुद्ध एपीएफ ८७ रनमा अलआउट हुँदा मधेशसँग सुदूर पराजित
तस्बिरः क्यान
काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र मधेश प्रदेशले चौँथोँ जित हात पारेका छन् ।
सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा पुलिसको यो लगातार चौँथोँ जित हो । एपीएफको भने चार खेलमा दोस्रो पराजय हो ।
सोमबारको खेलमा पुलिसले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको एपीएफले ३४ ओभरमा सबै विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो ।
एपीएफका लागि सन्दीप जोराले २५ तथा अमर रौटेलाले २३ रन बनाए । पुलिसका लागि ललित राजवंशीले ५ तथा राशिद खानले २ र सागर ढकालले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रन बनायो ।
पुलिसका लागि दिलिप नाथले ४४ तथा अर्जुन साउदले ३१ रन बनाए । एपीएफका लागि भुवन कार्कीले ३ तथा अमर रौटेला र रमेश कुर्मीले २-२ विकेट हात पारे ।
यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले पराजित गर्यो । मधेशको यो ६ खेलमा चौँथोँ जित हो भने सुदूरपश्चिमको चार खेलमा पहिलो पराजय हो ।
सोमबारको खेलमा ३ सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४४ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ३९ रनमात्र जोड्न सक्यो ।
सुदूरपश्चिमका लागि नरेन भट्टले १ सय २२ बलमा १३ चौका र १ छक्काको मदतमा १ सय २१ रन बनाउँदा पनि जितका लागि पर्याप्त भएन ।
मधेशका लागि राजेश यादव र प्रदिप पासवानले समान ३-३ विकेट तथा रंजित कुमारले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १९ रन जोड्यो ।
मधेशका लागि मयन यादवले सर्वाधिक १ सय १५ रन तथा पवन सर्राफले ७० रन र अनिल साहले ६९ रनको योगदान गरे ।
सुदूरपश्चिमक लागि शेर मल्लले ४ तथा विकाश आगरीले २ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया