खेलकुद

कोशीले सातवटै खेल हार्दा आर्मी र गण्डकी विजयी

इकागज |
माघ ९, २०८० मंगलबार १६:३१ बजे

तस्बिरः क्यान

काठमाडौँ- पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार सातौँ खेलमा पराजय भोग्दा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले जित हात पारेका छन् ।

मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कोशीले कर्णाली प्रदेशविरुद्ध ६ विकेटको पराजय भोग्यो । कोशीको यो लगातार सातौँ पराजय हो । कर्णालीको भने ६ खेलमा तेस्रो जित हो ।


मंगलबारको खेलमा १ सय ५२ रनको लक्ष्य कर्णालीले २८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्दा अर्जुन घर्तीले अविजित ५० रन बनाए । कोशीका हेमन्त राईले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि ३४ ओभर ३ बलमा अलआउट हुँदै कोशीले १ सय ५१ रन बनाउँदा सुजन थपलियाले ७३ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैसीले ३ तथा दिवान पुनले २ विकेट हात पारे ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा आर्मीले नेपाल एपीएफ क्लबलाई ४ विकेटले पराजित गरेको हो । पाँच खेलमा आर्मीको यो तेस्रो जित हो भने समान खेलमा एपीएफको यो तेस्रो पराजय हो ।

एपीएफविरुद्ध जितका लागि चाहिएको १ सय २२ रनको लक्ष्य आर्मीले २३ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्वाधिक ३४ रन जोडे । एपीएफका लागि रमेश कुर्मीले २ तथा मौसम ढकाल र कप्तान रोहित पौडेलले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ३२ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २१ रन बनायो । एपीएफका लागि रोहित पौडेलले सर्वाधिक ५९ रन बनाए । आर्मीका लागि सोमपाल कामीले ३ तथा अभिनाश कर्णले २ विकेट हात पारे ।

त्यसैगरी, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३ विकेटले पराजित गर्‍यो । जारी प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो भने बागमतीको तेस्रो पराजय हो ।

मंगलबारको खेलमा बागमतीले दिएको १ सय ९९ रनको लक्ष्य गण्डकीले ४९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । गण्डकीलाई जित दिलाउन करण पंगेनीले सर्वाधिक ७९ रन बनाए । बागमतीका लागि प्रतिश जिसीले सर्वाधिक २ विकेट हात पारे ।

यसअघि आशुतोष घिराइयाको ४४ रन तथा इशान पाण्डेको ४३ रनको मदतमा बागमतीले ४९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९८ रन बनायो ।

गण्डकीका लागि कमल परियारले ४ तथा विपिन खत्री र अमृत गुरुङले २-२ विकेट हात पारे ।


Author

थप समाचार
x