खेलकुद

सिरियासँग भारत पराजित हुँदा प्यालेस्टाइन र इरान विजयी

इकागज |
माघ १०, २०८० बुधबार १०:५१ बजे

काठमाडौँ- कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत भारतले सिरियासँग पराजय भोग्दा अस्ट्रेलियाले भने उज्बेकिस्तानसँग बराबरी खेलेको छ ।

समूह 'बी' अन्तर्गत अल जानोब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियाले उज्बेकिस्तानसँग १-१ गोलको बराबरी खेल्यो ।


बराबरीसँग ३ खेलबाट ७ अंक जोडेको अस्ट्रेलिया तथा ५ अंक जोडेको उज्बेकिस्तान भने अन्तिम १६ मा प्रवेश गरेका छन् । अस्ट्रेलियाले २ खेल जित्दा एक खेलमा बराबरी खेलेको थियो भने उज्बेकिस्तानले एक खेल जित्दा २ खेलमा बराबरीको नतिजा निकालेको थियो ।

मंगलबारको खेलमा अस्ट्रेलियाका लागि मार्टिन बोयल तथा उज्बेकिस्तानका लागि अजिजबेक टर्गुनबोयभले एक-एक गोल गरे ।

यता मंगलबार राति नै अल बायत स्टेडियममा भएको खेलमा सिरियाले भारतलाई १-० गोलअन्तरले पराजित गर्‍यो । सिरियालाई जित दिलाउन ओमार खर्बिनले एकमात्र निर्णायक गोल गरे ।

भारतले तीनवटै खेलमा पराजय भोग्दा सिरियाले भने पहिलो खेल जित्यो । उसले एक खेलमा बराबरी खेलेको थियो ।

यता समूह 'सी' अन्तर्गत भने इरानले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई २-१ गोलअन्तरले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्यो । इरानले तीनवटै खेलमा जित हात पारेको हो ।

यता इरानसँग पराजित भएपनि ४ अंक जोडेको यूएई पनि अन्तिम १६ मा पुग्यो । प्यालेस्टाइनले ४ अंक जोडेपनि गोलअन्तरमा भने यूएई समूह उपविजेता बन्यो ।

मंगलबार राति नै प्यालेस्टाइनले हङकङलाई ३-० ले पराजित गरेको थियो ।


Author

थप समाचार
x