खेलकुद

जोर्डनविरुद्ध नेपाल : बदलिँदो रणनीतिको परीक्षा

इकागज |
जेठ २४, २०७८ सोमवार १४:१७ बजे

काठमाडौँ: विश्वकप छनौटअन्तर्गत एसियाली समूह ‘बी’ मा नेपाल सबैभन्दा कमजोर मानिएको टिम हो । कमसेकम फिफा वरियताका आधारमा । वरियता हेर्ने हो भने समूहका अन्य टिमभन्दा नेपाल तल छ । हाल शीर्ष स्थानमा रहेको अष्ट्रेलिया फिफा वरियता एसियातर्फ चौथो स्थानमा छ । 

नेपालको अर्को विपक्षी जोर्डन पनि एसियाका बीस बलिया टिममध्येको एक हो । नेपालसँग दुवै लेगमा पराजित भए पनि चाइनिज ताईपेई फिफा वरियतामा विजयी टिमभन्दा ३० स्थानभन्दा माथि छ भने समूहकै अर्को टिम कुवेत चाइनिज ताईपेईभन्दा माथि छ ।   


नेपालले विश्वकप छनौट सेप्टेम्बर, २०१९ बाट सुरु गरेको थियो । पहिलो खेल थियो, कुवेतविरुद्ध । उसकै मैदानमा भएको खेलमा नतिजा पनि उसकै पक्षमा गयो । नेपालले सात गोल खाँदा एक पनि फर्काएन । संयोग नै मान्नुपर्छ त्यही कुवेतका अब्बदुल्लाह अल्मुताइरी नेपालका नयाँ मुख्य प्रशिक्षक हुन् । घर गएका स्विडिस योहान कालिन नेपाल नफर्केपछि अल्मुताइरीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । जसको नेतृत्वमा नेपालले दुई खेल खेलिसकेको छ । 

नेपाली टिमको जिम्मेवारी लिएसँगै अल्मुताइरीले खेलाडीको मात्र होइन नेपाली समर्थकको पनि मनोबल उच्च बनाएका छन् ।  उनी सामाजिक सञ्जालमा सक्रिय छन्, समर्थकसँग अन्तक्रिया गर्छन् र खेलाडीहरुमाथि दबाब सिर्जना नगर्न आग्रह गरिरहेका छन् । नेपाली टिमलाई नयाँ शैलीमा खेलाउने, रक्षात्मक खेलमा भन्दा आक्रमण बुन्नमा जोड दिने भनाइ अल्मुताइरीले राख्दै आएका छन् । सामाजिक सञ्जालमा कोचको यत्तिको सक्रियता यसअघि कहिलै देखिएको थिएन । 

फुटबलमा परिवर्तन गर्न समय लाग्छ । किनभने यसको आफ्नै लामो प्रक्रिया हुन्छ । एउटा शैलीमा खेलिरहेका खेलाडीलाई अर्को शैलीमा खेल्नसक्ने बनाउनु चानचुने कुरा पनि होइन । खेल्नसक्ने बनाए पनि नतिजा निकाल्न समय लाग्छ । फुटबल बुझेकाहरूले बारम्बार एकेडेमीदेखि राष्ट्रिय टिमसम्मको खेल शैली उस्तै हुनुपर्छ भनिरहेका हुन्छन् । तर एन्फाले अहिलेसम्म 'हाम्राे टिमले अब यो शैलीमा खेल्छ' भनेकाे सुनिएको छैन । प्रशिक्षक परिवर्तन भएसँगै राष्ट्रिय टिमको खेल शैली स्वत: परिवर्तन हुँदै आएको छ ।

अल्मुताइरीको नेतृत्वमा नेपालको पहिलो खेल थियो, इराकविरुद्ध । अन्तर्राष्ट्रिय खेलमा कम गोल गर्ने छवि भएको नेपालले दुई गोल गर्‍यो । खेल ६-२ ले हारेपनि नेपालले बहादुरीपूर्वक हारेको विश्लेषकहरूको भनाइ थियो । नेपालले चाइनिज ताईपेईलाई २-० ले हराएपछि समर्थकको उत्साह झनै बढ्यो । त्याे जित चाइनिज ताईपेईविरुद्ध नेपालले दुई वर्षभित्र हासिल गरेको दोस्रो जित थियो । 

फुटबलमा परिवर्तन गर्न समय लाग्छ । किनभने यसको आफ्नै लामो प्रक्रिया हुन्छ । एउटा शैलीमा खेलिरहेका खेलाडीलाई अर्को शैलीमा खेल्नसक्ने बनाउनु चानचुने कुरा पनि होइन । खेल्नसक्ने बनाए पनि नतिजा निकाल्न समय लाग्छ । फुटबल बुझेकाहरूले बारम्बार एकेडेमीदेखि राष्ट्रिय टिमसम्मको खेल शैली उस्तै हुनुपर्छ भनिरहेका हुन्छन् । तर एन्फाले अहिलेसम्म 'हाम्राे टिमले अब यो शैलीमा खेल्छ' भनेकाे सुनिएको छैन । प्रशिक्षक परिवर्तन भएसँगै राष्ट्रिय टिमको खेल शैली स्वत: परिवर्तन हुँदै आएको छ ।

यस्तोमा अल्मुताइरीले पनि खेल शैली परिवर्तन  गरिरहेका  छन् । पछिल्ला दुई खेलमा उनले ४-३-३ को संरचना प्रयोग गरे । टचलाइनबाहिरबाट पनि उनले खेलाडीलाई जतिसक्दो ‘क्विक मुभ’ बनाउन प्रेरित गरिरहेको देखिन्छ । ‘थ्री-म्यान मिडफिल्डमा’ सामान्यतया एक डिफेन्सिभ मिडफिल्डर र उनका अगाडि थप दुई मिडफिल्डर रहन्छन् । जसको जिम्मेवारी बल पोसेसन राख्‍ने र अग्रपंक्तिका लागि मौका सिर्जना गर्ने नै हो । यो ‘थ्री म्यान मिडफिल्ड’को सामान्य नियम हो । 

अल्मुताइरीले अग्रपंक्तिका स्ट्राइकर बाहेकका अन्य दुई खेलाडीले पनि गोल गरुन् भन्‍ने चाहेको देखिन्छ । परम्परागत शैलीमा विङ्गरको जिम्मेवारी मुख्यगरी बल क्रस गर्ने हुन्थ्यो । आधुनिक भनिएको शैलीमा ती विङ्गरलाई ‘ड्रिब्लिङ’ गर्दै विपक्षीको पेनाल्टी क्षेत्रमा प्रवेश गर्न लगाइन्छ । त्यसकारण सुनिल बल, अन्जन विष्ट, अभिषेक रिजाल लगायतका ‘वाइड फरवार्ड’ ले पनि गोल गरुन् भन्‍ने चाहन्छन्, अल्मुताइरी। युरोपमा मोहम्मद सलाहदेखि जेडोन सान्चो जस्ता खेलाडीले अधिक संख्यामा गोल गर्नसक्ने ‘वाइड फरवार्ड’ को परिचय बनाएका छन् । 

सोमबार साँझ नेपालले जोर्डनको सामना गर्दा अल्मुताइरीसँग आफ्नो ‘एक्सपेरिमेन्ट’लाई जारी राख्‍ने मौका हुनेछ । जोर्डन बलियो टिम भए पनि खेल ०-० बाटै सुरु हुन्छ  ।

कुवेतका अल्मुताइरीले नेपालको जिम्मेवारी लिएदेखि नै ठूलो टिमसँग भिड्दा पनि आक्रमक फुटबल खेल्ने वाचा गरेका छन् । ‘हाम्रो लक्ष्य जित नै हुनेछ । खेल ०-० बाट सुरु हुने हो । हार जित मैदानमा देखाउने प्रदर्शनका आधारमा निक्र्यौल हुनेछ । त्यसकारण हामी यस खेलका लागि तयार छौँ,’ आइतबार पत्रकारसँग कुरा गर्दै अल्मुताइरीले भनेका छन् । 

उता विपक्षी टिम जोर्डनका मुख्य प्रशिक्षक भिटाल बोर्केलम्यानले नेपालको खेलमा सुधार आएकाले उसलाई कम नआँक्ने प्रतिक्रिया दिए । बेल्जियम राष्ट्रिय टिमबाट खेलेका र करिब चार वर्ष सोही टिमका सहायक प्रशिक्षक रहेका बोर्केलम्यानले नेपालको इराक र चाइनिज ताईपेईसँगको खेल हेरेको र ती खेलमा नेपालले फरक शैलीमा खेलेको बताएका थिए । 

बोर्केलम्यान मे, २०१८ मा जोर्डनको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । उनको प्रशिक्षणमा जोर्डनले २८ खेल खेलेको छ र नौ खेलमा मात्रै पराजय भोगेको छ । विश्वकप छनौटमा जोर्डनले बलियो अष्ट्रेलियासँग १-० को हार ब्यहोरेको थियो । दोस्रो चरणको छनौटको अन्तिम खेलमा जोर्डनले फेरि अष्ट्रेलियाको सामना गर्नेछ । उता कुवेतले भने आफ्नो अन्तिम खेलमा कमजोर  चाइनिज ताईपेईको सामना गर्नेछ । खाडीका दुई टिमको नजर दोस्रो स्थानमाथि छ । दुवैले १० अंक बटुलेका छन् । तर जोर्डनले एक खेल कम खेलेको छ । समूह उप-विजेता बन्दै विश्वकपको तेस्रो चरणको छनौट खेल्ने दाउमा दुवै टिम रहेका छन् । यसकारण, जोर्डनले नेपालमाथि अनिवार्य जित चाहेको छ । 

उसो त नेपाल र जोर्डन करिब १० वर्षअघि पनि विश्वकप छनौटमा भिडेका थिए । पहिलो लेग ९-० ले गुमाए पनि दोस्रो लेगमा नेपालले जोर्डनलाई दशरथ रंगशालामा १-१ को बराबरीमा रोकेको थियो । यसपटकको पहिलो लेगमा भने नेपाल ३-० ले पराजित भइसकेको छ । दशरथ रंगशालामा जोर्डनलाई दोस्रो पटक निम्ताउने नेपालको सपना भने पूरा भएन । नेपालले खेल्न बाँकी रहेका सबै खेल कुवेत सिटीतर्फ सारिएपछि दुई टिम कुवेत एससी रंगशालामा भिड्न लागेका हुन् । 

नेपाल हाल समूह बीको चौथो स्थानमा छ । चाइनिज ताईपेईविरुद्ध हासिल गरेका जितले नेपालको खातामा छ अंक छ । एसियन कप छनौटको तेस्रो चरणका लागि सिधै छानिन समूहमा तेस्रो हुनेपर्नेछ । हाल समूहमा तेस्रो स्थानमाथि जोर्डनको कब्जा छ । फेरि नेपालले अष्ट्रेलियासँग पनि खेल्न बाँकी रहेकाले समूहमा तेस्रो हुने सम्भावना न्यून छ ।

यस्तोमा एसियन कपको तेस्रो चरण खेल्ने लक्ष्य जिवित राख्‍न नेपाल चौथो स्थानमा रहिरहनुपर्छ । विश्वकप छनौटका आठ समूहमा चौथो हुने उत्कृष्ट चार टिमले तेस्रो चरणको छनौट खेल्न पाउछन् । उत्कृष्ट चारमा नपरे नेपालले प्ले-अफको बाटो तय गर्नुपर्नेछ । 

 


 
 


Author

थप समाचार
x