खेलकुद

शुक्रले जिते सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि

इकागज |
माघ १२, २०८० शुक्रबार १७:५० बजे

काठमाडौँ- नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् ।

अन्तिम दिन १-अन्डर ६९ सहित समग्रमा ३-अन्डर २ सय ७ को स्कोरसहित शुक्रले उपाधि जितेका हुन् । धरानका अर्का प्रो नीरज तामाङलाई ५ स्ट्रोकको फराकिलो अन्तरले हराउँदै शुक्रले लगातार दोस्रो पटक उपाधि जितेका हुन् ।


शुक्रको करियरको यो दशौँ प्रमुख उपाधि हो । उनले उपाधिसँगै नगद १ लाख ४० हजार प्राप्त गरे । दशौँ उपाधि जित्दै शुक्रले भेट्रान प्रो दीपक थापा मगर र पूर्व नम्बर एक गल्फर दीपक आचार्यसँग उपाधि सङ्ख्या बराबरी समेत गरेका छन् ।

अन्तिम १८ होलको सुरुवात गर्दा मात्र एक स्ट्रोकले पछि रहेका नीरजले शुक्रबार शुक्रलाई चुनौती दिन सकेनन् । ३-ओभर ७३ को खराब प्रदर्शन गर्दा समग्रमा २-ओभर २ सय १२ को नतिजामा दोस्रो स्थानमा खेल सकाए । उनले ९६ हजार नगद हात पारे ।

पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी समग्रमा ३-ओभर २ सय १३ सहित तेस्रो भए । उनले शुक्रबार १-ओभर ७१ मा खेल सकाए । उनले ७२ हजार प्राप्त गरे ।

समग्रमा ७-ओभर २ सय १७ को स्कोरमा राजेन राई, भुवन कुमार रोक्का र रामे मगर संयुक्त रूपमा चौँथोँ  भए । उनीहरूले जनही ५० हजार ५ सय नगद पुरस्कार आफ्नो नाममा लेखाए ।

समग्रमा ९-ओभर २ सय १९ को स्कोरमा रबि खड्का सातौँ हुँदै ३९ हजार नगद हात पारे । समग्रमा १० ओभर २ सय २० को नतिजा निकालेका सञ्जय लामा र सूर्य प्रसाद शर्माले संयुक्त रूपमा आठौँ स्थानमा प्रतियोगिता सकाए । उनीहरूले जनही ३४ हजार २ सय ५० नगद प्राप्त गरे । धरानका देउराज पाख्रीनले समग्रमा ११-ओभर २ सय २१ को स्कोरमा दशौँ हुँदै ३१ हजार हात पारे ।

एमरच्योरतर्फ गजेन्द्र गुरूङ समग्रमा ८-ओभर २ सय १८ सहित युवराज भुजेललाई काउन्ट ब्याकमा हराउँदै उपाधि जित्न सफल भए । शुक्रबार गजेन्द्रले ३-ओभर ७३ र युवराजले ६-ओभर ७६ को स्कोर गरे । समग्रमा ११-ओभर २ सय २१ सहित सुमन परियार र सुन्दर राई संयुक्तरुपमा तेस्रो भए ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गरी कुल ४७ गल्फरको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत ६५ लाख पुरस्कार राशिको कुल आठ प्रतियोगिता हुनेछ ।


Author

थप समाचार
x