सूर्यले ६ विकेट लिएपछि लुम्बिनीमाथि बागमतीको शानदार जित
काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि शानदार जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा बागमतीले ९ मध्ये ६ खेलमा जित हात पारेको छ । बागमतीले १२ अंक जोडेको छ । यता लुम्बिनीको भने ६ खेलमा पाँचौं पराजय हो । उसले केवल २ अंकमात्र जोडेको छ ।
शनिबारको खेलमा १ सय ७ रनको विजयी लक्ष्य बागमतीले १७ ओभर २ बलमा केवल ४ विकेट गुमाएर पूरा गर्यो ।
बागमतीको जितमा इशान पाण्डेले ५० रन तथा कप्तान रित गौतमले २४ रन जोडे । आशुतोष घिरइया १४ रनमा आउट भए । लुम्बिनीका लागि निर्मल गुरुङले २ तथा अभिषेक गौतम र कृष्ण कार्कीले १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ३२ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८ तथा निर्मल गुरुङले २७ रन बनाए ।
लुम्बिनीलाई सस्तैमा समेट्न बागमतीका सूर्य तामाङले सर्वाधिक ६ तथा विपिन आचार्यले २ विकेट हात पारे । प्रतिस जिसी र कृजन गुरुङले १-१ लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया