सामर जोशेफले ७ विकेट लिएपछि वेस्ट इन्डिजसँग अस्ट्रेलिया स्तब्ध
काठमाडौँ- सामर जोशेफले एकै इनिङ्समा ७ विकेट हात पारेपछि पाहुना टोली वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्धको दोस्रो खेल खेलमा रोमाञ्चक जित हात पारेको छ ।
ब्रिसबेनमा आइतबार सम्पन्न भएको खेलमा वेस्ट इन्डिजले घरेलु टोली अस्ट्रेलियालाई ८ रनले पराजित गर्यो । यससँगै दुई खेलको सिरिज १-१ बराबरीमा टुंगिएको छ । पहिलो खेल भने अस्ट्रेलियाले १० विकेटले जितेको थियो ।
दोस्रो खेलमा २ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ सय ७ रनमै सबै विकेट गुमायो । अस्ट्रेलियाका लागि ओपनर स्टेभेन स्मिथले अविजित ९१ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।
वेस्ट इन्डिजलाई जित दिलाउन अस्ट्रेलियाको दोस्रो इनिङ्समा सामर जोशेफ ७ विकेट हात पार्दा अल्जारी जोशेफले २ र जस्टिन ग्रिभ्सले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पहिलो इनिङ्समा ३ सय ११ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जोशुआ दा सिल्भाले ७९ रन तथा काभेम होजले ७१ रन बनाएका थिए । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए ।
अस्ट्रेलियाले भने ९ विकेट गुमाएर २ सय ८९ रन बनाएपछि पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । अस्ट्रेलियाका लागि उस्मान खवाजाले सर्वाधिक ७५ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोशेफले ४ तथा केमार रोचले ३ विकेट लिए ।
वेस्ट इन्डिजले दोस्रो इनिङ्समा १ सय ९३ रनमै सबै विकेट गुमाएपछि अस्ट्रेलियाले २ सय १६ रनको लक्ष्य पाएको थियो । वेस्ट इन्डिजका लागि किर्क म्याककेन्जीले सर्वाधिक ४१ रन बनाए भने अस्ट्रेलियाका नाथन लायन र जोश ह्याजलउडले समान ३-३ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया