पल्सर स्पोर्टस् अवार्ड विजेतालाई युनाइटेड अजोडको ७ लाख बराबरको खेलकुद बिमा
काठमाडौँ- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २० औँ सँस्करणको विजेताहरूलाई बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैयाँ बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ ।
यही माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्डबाहेक आठ विधाका विजेताहरूलाई युनाइटेड अजोडले एक वर्षका लागि सो पोलिसी प्रदान गर्ने भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले जनाएको छ ।
युनाइटेड अजोड पल्सर स्पोर्टस अवार्डको यस वर्षको इन्स्योरेन्स पार्टनरको रूपमा पनि आबद्ध भएको हो ।
यसका लागि एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।
पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।
पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक हुन बाँकी छ । त्यस बाहेक पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
स्पोर्ट्स अवार्डका अन्य सहयोगीहरूमा ई सेवा, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, सुबिसु, रोयल सिंगी होटल ,प्लाजा ग्रुप अफ होटल, लालपुर्जा नेपाल, आईएसएस,राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया