खेलकुद

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

इकागज |
माघ २३, २०८० मंगलबार १७:२२ बजे

काठमाडौँ- नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २० औँ संस्करणका लागि उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ ।

होटल याक एन्ड यतीमा यही माघ २८ गते हुने स्पोर्ट्स अवार्डका लागि एनएसजेएफले मंगलबार उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । पहिलो चरणमा दुवै विधामा उत्कृष्ट ८ मनोनयनमा परेका छन् ।


मञ्चले विगतमा चार विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्दै आएको थियो । यस पटकदेखि नयाँ प्रयोग थालेको हो । वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडीहरूलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यले यो प्रयोग गरिएको हो ।

मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा सार्वजनिक गरिनेछ । अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ ।

वर्षका युवा खेलाडी मनोनयनमा राममाया बुढा (एथलेटिक्स), सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) परेका छन् ।

वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) परेका छन् ।

वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी र उसलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षकलाई मनोनयनमा परेका एनएसजेएफले जनाएको छ ।

एनएसजेएफले वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।


Author

थप समाचार
x