सूर्य नेपाल वेस्टर्न ओपन सुरू, पहिलो दिन भुवनलाई अग्रता
पोखरा- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौथों प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन् । पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा पुर्व नम्बर एक प्रो भुवन ३-अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन् । एमेच्योर खेलाडी सदभाव आचार्य २-अण्डर ६७ मा खेल सकाउँदै दोश्रो स्थानमा रहे । रवि खड्का र निरज तामाङले इभन-पार ६९ को स्कोरमा तेश्रो स्थान बाँडे ।
१-ओभर ७० सहित धनबहादुर थापा पाँचौं स्थानमा रहँदा दीपक आचार्य र टंकबहादुर कार्की २-ओभर ७१ सहित संयुक्त रूपमा छैटौं स्थानमा रहे । बलभद्र राई, भुवन कुमार रोक्का, दीपक मगर, दिनेश प्रजापति तथा एमेच्योर सुन्दर राई ३-ओभर ७२ को स्कोरमा संयुक्त रूपमा आठौं स्थानमा रहेका छन् ।
लिडर भुवनले दोश्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाईनमा १-अण्डर ३३ मा पुरा गरे । यसपछि तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याक नाईन २-अण्डर ३५ मा सकाए । भुवनले ११औँ, १५औँ र १८औँ होलमा एक-एक सट बचाउँदा १२औँ होलमा बोगीको सामना गरे ।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि विजेता सदभावले फ्रन्ट नाइन १-अण्डर ३३ र ब्याक नाइन १-अण्डर ३४ मा सकाए । उनले तेश्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले । यसपछि १२औँ होलमा बोगी खेपेका सदभावले १३औँ र १५औँ होलमा बर्डी प्रहार गरे ।
पूर्वनम्बर एक प्रो रविले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए र ब्याक नाईनमा इभन-पार ३५ खेले । चौथों र आठौं होलमा बर्डी प्रहार गरेका रविले छैटौं होलमा डबल बोगी खेपे । यसपछि १०औँ होलमा बर्डी प्रहार गरे भने रविले १८औँ होलमा एक सट खेर फाले ।
निरजले फ्रन्ट नाईनमा बोगी रहित १-अण्डर ३३ खेल्दा ब्याक नाईनमा १-ओभर ३६ खेले । उनले तेश्रो होलमा बर्डी प्रहार गरे । यसपछि निरजले १३औँ र १५औँ होलमा बोगी खेपे भने १४औँ होलमा एक सट जोगाए ।
तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । काठमाडौँ बाहिर हुने दुई प्रतियोगितामध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहेको छ । डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेको हुनाले प्रतियोगितामा सहभागीता जनाएका छैनन् ।
गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन गएका हुन् । पूर्वनम्बर एक एमेच्योर गल्फर सुवासले प्रोफेसनल गल्फ टुर अफ इण्डियाको क्वालीफाईङ्ग स्कूलमा दोश्रो हुँदै भारतीय गल्फ टुरको २०२४ सिजनको लागि कार्ड प्राप्त गरेका हुन् ।
३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम दिन प्रतिस्पर्धा गर्न पाउनेछन् ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । चौथों र पाँचौं स्थान प्राप्त गर्न प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्नेछन् ।
प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत जारी सिजनमा कुल आठ प्रतियोगिता रहेका छन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया