खेलकुद

ओलम्पिकका लागि हुने एसियाली छनोट खेल्न तेक्वान्दो टोली चीन जाँदै

इकागज |
फागुन २७, २०८० आइतबार १६:४६ बजे

काठमाडौँ- फ्रान्सको पेरिसमा हुने ओलम्पिक तथा पारालम्पिक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ ।

पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ्ग र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रत्येक तौलसमूहमा पहिलो र दोश्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने छन् ।


प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन् । छनोट मार्च १५ र १६ तारिखमा हुनेछ । त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दैछ ।

पेरिस पारालम्पिक छनोटअन्तर्गत के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्ने छन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुन् । बाँकी दुईको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । मार्च १७ तारिखमा हुने प्रतियोगितामा सहभागी हुन टोली मार्च १४ तारिख चीन प्रस्थान गर्ने छ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालम्पिकलाई छनोट हुने प्रावधान छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।


Author

थप समाचार
x