खेलकुद

डेनिस फुटबल संघ भन्छ, ‘एरिक्सनको स्वास्थ्य अवस्था स्थिर’

इकागज |
जेठ ३०, २०७८ आइतबार १६:४३ बजे

काठमाडौँ: डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । शनिबार राति फिनल्यानडसँगको खेल दौरान मैदानमा ढलेका एरिक्सनको हाल कोपनहेगानस्थित एक अस्पतालमा उपचार भइरहेको छ । 

डेनिस फुटबल संघ (डीबीयू) ले एरिक्सनको थप जाँच र उपचार भइरहेको जनाएको छ । ‘हामीले आज एरिक्सनसँग कुरा गर्‍यौँ । उनको स्वास्थ्य अवस्था स्थिर छ । उनको थप जाँच र उपचार चलिरहेको छ । उनले आफ्ना साथी खेलाडीलाई सन्देश पठाएका छन्,’ एरिक्सनको स्वास्थ्यबारे ताजा जानकारी दिन निकालिएको विज्ञप्तिमा भनिएको छ । 


एरिक्सनको स्वास्थ्य प्रति चासो राख्‍ने सबैलाई डीबीयूले धन्यवाद पनि भनेको छ । ‘एरिक्सनलाई कुनै सन्देश दिनुछ भने हामी मार्फत दिन आग्रह छ । हामी सबैको सन्देश उनी र उनको परिवारसमक्ष पुर्‍यादिनेछौँ,’ डीबीयूले भनेको छ । 

एरिक्सनलाई अस्पताल लगिएसँगै डेनमार्क र फिनल्यान्डबीचको खेल स्थगित गरिएको थियो । सोही दिन खेल्ने वा अर्को मितिका लागि सार्ने विकल्प प्रस्तुत गरिँदा दुबै टिमले सोही दिन खेल्ने निर्णय गरे । र, खेल रोकिएकै समयबाट सुरु गरिएको थियो ।

अन्ततः खेल फिनल्यान्डले जितेको थियो । ५९औँ मिनेटका फिनल्यान्डका लागि जोएल पुजनपालोले निर्णायक गोल गरेका थिए । पीएर एमिल हाएबर्गले पेनाल्टीमा गोल गर्न नसकेपछि डेनमार्कले खेल बराबरी गर्ने मौका गुमाएको थियो । 


Author

थप समाचार
x