खेलकुद

आउँदा खेलमा सचेत हुनेछौँ : डच प्रशिक्षक डे बोर

इकागज |
जेठ ३१, २०७८ सोमबार १०:३७ बजे

काठमाडौँ : युरो २०२० मा आइतबार राति नेदरल्यान्ड्सले युक्रेनमाथि ३-२ को जित दर्ता गर्‍यो । योहान क्रुफ ऐरेनामा भएको समूह सी को खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरे । कप्तान जर्जियो वाइनाल्डमले ५२ औँ मिनेटमा गोल गर्दै डच टिमलाई अग्रता दिलाएका थिए । 

त्यसको ६ मिनेटपछि नै नेदरल्यान्ड्सले गोल अन्तर दोब्बर बनायो । यस पटक गोल गर्ने खेलाडी थिए वुट वेघ्रोस्ट । तर त्यसपछि नेदरल्यान्ड्सले खेलमा नियन्त्रण गुमायो । ७५ औँ र ७९ औँ मिनेटमा युक्रेनले सरासर दुई गोल फर्कायो । आन्द्रेय यार्मोलेन्कोले युक्रेनको पहिलो गोल गरे । उनलाई रोमन यारेमचुकले पास उपलब्ध गराएको थिए । 


युक्रेनलाई २-२ को अवस्थामा उनै यारेमचुकले पुर्‍याए । खेल बराबरीतर्फ अघि बढ्दै गर्दा नेदरल्यान्ड्सले ८५ औँ मिनेटमा तेस्रो गोल गर्‍यो । रक्षक नाथन आकेको लामो पासको उपयोग गर्दै विङ्ब्याक डेन्जेल डमफ्रिजले गोल गरे । 

युक्रेनविरुद्धको खेल झन्डैले गुमाएपछि डच प्रशिक्षक फ्रान्क डे बोरले आउँदो खेलमा आफूहरू सचेत हुने प्रतिक्रिया दिए । ‘डच खेलाडीहरूले सन्तुलित खेल प्रदर्शन गरे । त्यसका लागि हामीले गर्व गर्नुपर्छ । तर अन्तिममा हामीले झन्डैले खेल गुमायौँ । आउँदो खेलमा यस्तो अवस्था आउन नदिन सचेत हुनुपर्छ,’ डे बोरले भने ।  

आम्सटरडाममा भएको खेलमा करिब १६ हजार दर्शक उपस्थित थिए । सोही रंगशालामा नेदरल्यान्ड्सले अब जुन १७ मा अस्ट्रियाको सामना गर्नेछ । अस्ट्रियाले आफ्नो पहिलो खेलमा आइतबार नै उत्तर म्यासिडोनियालाई ३-१ ले पराजित गर्‍यो । अस्ट्रियाको जितमा स्टेफन लेनेर, माइकल ग्रेगोरिस र मार्को अरनौटोभिचले एक-एक गोल गरे । पराजित म्यासिडोनियाका लागि गोरान पान्डेभले एक गोल फर्काए ।


Author

थप समाचार
x