कोपा अमेरिका :
ब्राजिलका कप्तान कासिमिरो भन्छन्- ‘इतिहासलाई न्याय गर्ने गरी खेल्नुपर्छ’
काठमाडौँ : अनेक विवादबीच कोपा अमेरिका अन्तत: ब्राजिलमा सुरु भएको छ । आइतबार बिहान भएको उद्घाटन खेलमा आयोजक टिम ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गर्यो । ब्राजिलको जितमा नेयमार नायक बने । उनले एक गोल गरे भने अर्का गोलकर्ता गाब्रिएल बारबोसाका लागि पास उपलब्ध गराए ।
ब्राजिलको पहिलो गोल भने मार्किन्योसले गरे । पेरिस सेनट जर्मेन (पीएसजी) का रक्षकले २३ औँ मिनेटका ब्राजिललाई खेलमा अघि बढाएका थिए । दोस्रो हाफको ६४ औँ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गरे । खेलको उर्ताद्धमा गाब्रिएलले ब्राजिलको तेस्रो गोल गरे ।
प्रतियोगिताको विरोध
यसपटकको कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्नेवाला थिए । अर्जेन्टिनामा कोभिड-१९ संक्रमण बढेको र कोलम्बियामा राजनीतिक आन्दोलनका कारण स्थिति जटिल भएको भन्दै ब्राजिललाई नयाँ आयोजक बनाइयो ।
जबकी ब्राजिललाई पनि कोभिड-१९ ले आक्रान्त पारेको छ । अनि राष्ट्रपति जयर बोलसोनारोविरुद्धको आन्दोलन पनि जारी छ । यस्तोमा ब्राजिल कोपा अमेरिकाको आयोजक बन्न नहुने आवाज उठ्यो । ब्राजिलकै खेलाडीले पनि विरोध जनाए । यद्यपि खेलाडी आफ्नो राष्ट्रिय टोलीका लागि खेल्न भने तयार भए ।
ब्राजिलका लागि खेल्दाको दबाब
यस ब्राजिलियन टिमका कप्तान हुन, मिडफिल्डर कासिमिरो । भेनेजुएलालाई हराएपछि कासिमिरोको प्रतिक्रिया थियो, ब्राजिलका लागि खेल्दा निकै दबाब महसुस गर्नुपर्छ । रियल म्याड्रिडबाट खेल्ने कासिमिरोले ब्राजिलका खेलाडीहरूले थप मेहेनत गर्नुपर्ने पनि बताए ।
‘ब्राजिलियन फुटबलको गर्विलो इतिहास छ । इतिहासलाई न्याय गर्न हामीले सचेत भएर खेल्नुपर्छ । त्यसरी खेल्दा अवश्य पनि हामीले दबाब महसुस गछौँ नै । चाहे कोपा अमोरिकामा होस् वा विश्वकपमा ब्राजिलको जर्सी लगाएपछि हामीले स्वत राम्रो खेल्नुपर्छ,’ कासिमिरोले भने, ‘हाम्रा अग्रजले यस जर्सीमा निकै उपाधि जितेका छन् । हामी पनि जित्न चाहन्छौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया