खेलकुद

भारतको अस्ट्रेलिया भ्रमण र उठेका केही प्रश्‍नहरू

इकागज |
मंसिर १०, २०७७ बुधबार १८:१० बजे

दुई साता अघि सकिएको इन्डियन प्रिमियर लिग (आइपीएल) मा विराट कोहली र आरोन फिन्च एकै टीममा थिए । भारतको राष्ट्रिय टीमका कप्तान कोहली र अस्ट्रेलियाको राष्ट्रिय टीमका कप्तान फिन्च रोयल च्यालेन्जर्स बेंग्लोरका लागि आइपीएलका कयौं खेलरूमा आ-आफ्ना मुलुकका खेलाडीहरू सहभागि टीमहरूसँग प्रतिष्पर्धामा रहे । तर आउँदो शुक्रबारबाट भने यी कप्तानहरू एक-आपसको सामना गर्नेछन् । सिड्नीमा हुने ओडिआई सिरिजमा यी दुईले आइपीएलमा गासेको मित्रतालाई भुल्नेछन् ।
 
अस्ट्रेलियाको यात्रामा निस्किएको भारतीय टीमका बारेमा केही प्रश्‍नहरू भने यथावत छन् । जसलाई यस आलेखमा उठाउने प्रयास गरिनेछ ।
 
के.एल राहुलको स्थान ? 
रिशभ पन्त अस्ट्रेलिया पुगेको भारतीय टीममा छैनन् । त्यसकारण, के.एल राहुल नै भारतका लागि पहिलो रोजाईको विकेट किपरका रूपमा रहनेछन् । गत जनवरीमा रिशभ पन्त चोटका कारण बहिरिएपछि राहुलले भारतका लागि विकेट किपरको भूमिका निर्वाह गरिरहेका छन् । तर यस्तोमा, राहुलले कति नम्बरमा ब्याटिङ गर्लान भन्‍ने प्रश्‍न खडा हुन्छ ?
 
गत जनवरीमा राजकोटमा अस्ट्रेलियासँगको खेलबाट भारतका लागि विकेट किपरका रूपमा डेब्यु गर्दा राहुलले पाँच नम्बरमा ब्याटिङ गरे । त्यसलगत्तै, भएको न्यूजिल्यान्ड विरुध्दको खेलमा पनि राहुललाई उही भूमिका दिइयो । तर त्यसपछिका खेलहरूमा राहुल कहिले माथिल्लो क्रम, कहिले मध्य क्रममा प्रयोग गरिए । कति खेलहरूमा त उनी टीममै परेनन् ।
 
अस्ट्रेलिया भ्रमणमा उनले कति नम्बरमा ब्याटिङमा गर्ने हुन् पत्तो छैन । ओपनर रोहित शर्माको अनुपस्थिति र राहुल आफैलाई पनि माथिल्लो क्रममा ब्याटिङ गर्न मनपर्ने परीपेक्षमा भारतीय कप्तान कोहलीले कस्तो निर्णय लिने हुन् हेर्न बाँकी छ ।   

अग्रवाल विरुध्द गिल
भारतले राहुललाई ओपनिङमा नपठाउने हो भने, शिखर धवनको साझेदार बन्‍न मायान्क अग्रवाल र शुभमन गिलको प्रतिस्पर्धा हुने देखिएको छ । न्यूजिल्यान्ड विरुध्दको खेलमा ओपनिङमा देखिएका पृथ्वी शा यसपटक भारतीय टीममा नपरेपछि धवनका लागि साझेदारको खोजी हुने भएको हो ।
  
अग्रवाल भारतीय टेस्ट टीमका लागि निरन्तर खेलिरहेका छन् । भर्खरै सकिएको आइपीएलमा अग्रवालले किंग्स इलेभेन पन्जाबका लागि प्रभावशाली प्रदर्शन गरे । उनको राहुलसँगको साझेदारी सम्झन लायक रह्यो । पन्जाबलाई क्वालिफायरमा पुर्‍याउन नसकेपनि ब्यक्तिगत रूपमा अग्रवालका लागि आइपीएल सफल नै रह्यो । आइपीएलमा पन्जाबका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा ६७० रन सहित राहुल पहिलो स्थानमा रहे । अग्रवाल पनि राम्राे रन बनाउने खेलाडीको सूचीमा रहे । 
  
यता, गिलले अहिलेसम्म भारतका लागि जम्मा दुई क्याप मात्र जितेका छन् । भारतीय टीमले सन् २०२३ को विश्वकपका लागि अहिलेबाटै टीम निर्माण गर्दै जाने हो भने गिल सम्भावित टीममा पर्नसक्ने खेलाडी हुन् । तर त्यसका लागि उनले अग्रवाल जस्ता खेलाडीहरूसँग चर्को प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
 
हार्दिक पान्ड्याको भूमिका 
सन् २०१८ को एसिया कपमा घाइते भएपछि हार्दिक पान्ड्याको रिहाब र रिकभरीमा विशेष ध्यान दिइयो । बलिङ पनि गर्न चाहने पान्ड्या ढाडमा देखिएको समस्याका कारण आइपीएलमा ब्याटिङमा मात्र ध्यान केन्द्रित गर्न बाध्य भए । 


मुम्बई इन्डियन्सले आइपीएल जित्दा पान्ड्याको भूमिका महत्पूर्ण रह्यो । आइपीएलमा उनले स्वतन्त्रतापूर्वक ब्याटिङ गर्न पाए । भारतीय टीमका लागि उनले बलिङ गर्न पाउने छैनन्, त्यसकारण उनको ध्यान ब्याटिङमै हुनेछ । उनी भारतीय ब्याटिङ ‘लाइन–अप’ को शिर्ष ६ मै हुनेछन् । तर उनले भारतको राष्ट्रिय टीमका लागि आइपीएलमा जस्तै स्वतन्त्रतापूर्व ब्याटिङ गर्न पाउने छन् वा छैनन् भन्ने अनुमान गर्न गाह्रो छ । 

कुलदिप र चाहाल 
भारतका लागि रबिन्द्र जडेजाको तल्लोक्रमको ब्याटिङ प्रदर्शन सधै महत्वपूर्ण रहदै आएको छ । भारतले उनलाई खेलाउने निर्णय गर्दा टीममा एक स्पिनरका लागि मात्र ठाउँ बाँकी रहन्छ । सन् २०१७ को च्याम्पियन्स ट्रफीपछि करिब दुई वर्ष कोहलीले कुलदिप यादव र युजभेन्द्र चाहाललाई प्रयोग गरे । तर अहिले समय फेरिएको छ । यस पटकको आइपीएलमा यादव कोलकाता नाइट राइडर्सका लागि मूख्य स्पिनर थिएनन् । त्यस्तै, भारतको न्यूजिल्यान्ड भ्रमणमा पनि उनले पर्याप्त मौका पाएका थिएनन् ।  

उता चाहालले भने आइपीएलमा सन्तोषजनक खेले । रोयल च्यालेन्जर्सका लागि उनले कुल २१ विकेट लिए । आइपीएलमा उनले गरेको प्रदर्शनका आधारमा पनि भारतीय टीममा उनले एक्लो स्पिनरका रूपमा मौका पाउने सम्भावना प्रबल छ ।

अन्त्यमा,
भारतीय टीममा फास्ट बलरहरूको व्यस्थापन गर्नुपर्ने आवश्यकता छ । विशेषगरी, जसप्रित बुमराह र मोहम्मद शामी जस्ता खेलाडीहरूलाई आरामको जरुरी हुन्छ । अस्ट्रेलिया विरुध्द हुने टि-ट्‍वान्टी सिरिज र वार्मअपका खेलहरू जुध्‍नेछन् । त्यसकारण, यी बलरहरूलाई टि-ट्‍वान्टी सिरिजमा नखेलाई वार्मअप खेलहरूमा प्रयोग गर्ने सम्भावना पनि उत्तिकै छ । त्यस्तै नवदिप सैनी पनि बुराह र शामीसँगै वार्मअप खेलमा प्रयोग हुन सक्नेछन् ।

त्यसो त भारतीय टीमले शार्दुल ठाकुर, दिपक चाहार र टि नटराजनजस्ता पेसरहरूलाई कसरी प्रयोग गर्छ भन्‍ने पनि रोचक विषय हुनसक्छ । तर मूख्य चासोको विषय भनेको, बुमराह, शामी र सैनीलाई भारतीय टीमले कसरी आराम दिँदै उपयोग गर्छ भन्‍ने नै हो । 
(क्रिक इन्फोबाट )


Author

थप समाचार
x