खेलकुद

युरो २०२०ः बल पोसेसन र पासमा स्पेनको कीर्तिमान, तर गोल शून्य

इकागज |
असार १, २०७८ मंगलबार १३:५१ बजे

काठमाडौँ: युरोमा सोमबार राती स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकियो । भने जस्तो नतिजा नआए पनि स्पेनले खेलमा सर्वाधिक बल पोसेसनको कीर्तिमान राख्यो । स्पेनी खेलाडीहरुले स्विडिस टिमविरुद्ध ८५ प्रतिशत बल पोसेसन राखेका थिए । सन् १९८० यता कुनै पनि टिमले युरोमा यत्तिको बल पोसेसन राख्न सकेको थिएन । 

सोही खेलमा स्पेनले पासको कीर्तिमान पनि राख्यो । स्विडेनविरुद्ध स्पेनले कुल नौ सय १७ पास खेल्यो । जुन स्पेनी टिमका लागि नयाँ कीर्तिमान हो । स्पेनले नौ वर्षअघि राखेको आफ्नै कीर्तिमान भंग गर्‍याे । त्यसबेला, स्पेनले आयरल्यान्डसँगको खेलमा कुल आठ सय ५९ पास खेलेको थियो । त्यस खेलमा जाभी एक्लैले एक सय ३६ पास खेलेका थिए ।  


पहिलो हाफमा मात्रै स्पेनले कुल चार सय १९ पास खेलेको थियो । यो पनि आफैँमा नयाँ कीर्तिमान हो । किनभने कुनै पनि टिमले यसअघि युरोको आफ्नो पहिलो खेलको पहिलो हाफमा यत्तिको संख्यामा पास खेलेको थिए ।  

स्पेनले बल पोसेसन र पासमा कीर्तिमान राखे पनि खेल जित्नका लागि गोल भने गर्न सकेन । स्विडिस रक्षापंक्तिले स्पेनका सबै आक्रमण र आक्रमण प्रयासलाई विफल तुल्याइदिएका थिए । 

स्पेनले अब आफ्नो दोस्रो खेलमा जुन २० मा पोल्यान्डको सामना गर्नेछ । पोल्यान्ड समूह ‘एच’ मा अंकविहिन छ । रोबर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्ड आफ्नो पहिलो खेलमा सोमबार राती नै स्लोभाकियासँग २–१ ले पराजित भएको थियो । 


Author

थप समाचार
x