खेलकुद

पोर्चुगलको सबैभन्दा महत्वपूर्ण खेलाडी को ?

इकागज |
असार १, २०७८ मंगलबार १६:५९ बजे

काठमाडौँ: पोर्चुगल युरो २०१६ को च्याम्पियन हो । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगिज टिमले यस पटकको युरोमा पहिलो खेल मंगलबार साँझ खेल्दैछ । यस पटक पनि उपाधि दाबेदार मानिएको पोर्चुगलको पहिलो विपक्षी हो, हंगेरी । खेल हंगेरीको राष्ट्रिय रंगशाला पुस्कास एरेनामा हुनेछ । 

पोर्चुगल युरोपियन फुटबलमा ‘ट्यालेन्ट फ्याक्ट्री’ मानिन्छ । पोर्चुगिज फुटबलकै उत्पादन रोनाल्डो अर्जेन्टिनामा लियोनल मेस्सीसँगै विश्‍व फुटबलमा पछिल्लो एक दशकयताका ठूला स्टार हुन् । मेस्सी कोपा अमेरिका खेल्दै गर्दा रोनाल्डो युरोमा व्यस्त हुनेछन् । उनी युरोपियन च्याम्पियनसिपकै निर्विवाद रुपमा सबैभन्दा ठूला स्टार हुन् । 


तर यसपटक पोर्चुगल रोनाल्डोको भरमा मात्रै छैन । पोर्चुगिज टिममा एक सय एक युवा प्रतिभा छन् । रक्षापंक्तिमा रुबेन डायस, अग्रपंक्तिमा जोआओ फिलिक्स, डिएगो जोटा, गोन्सालो गुएडेस जस्ता खलाडी छन् । यी सबैले आ-आफ्ना क्लबमा राम्रो प्रदर्शन गरेका छन् । यी बाहेक अर्का खेलाडी पनि छन्, जसले पोर्चुगललाई युरोपियन विजेता बनाउन चाहन्छन् । ती खेलाडी हुन्, ब्रुनाे फर्नान्डेज । 

यस्तोमा प्रश्‍न उठ्न सक्छ, पोर्चुगलका सबैभन्दा महत्वपूर्ण खेलाडी को ? रोनाल्डो कि ब्रुनो ?  रोनाल्डो ३६ वर्ष पुगिसकेका छन् । यद्यपि उनको क्लबस्तरमा प्रदर्शन खस्केको छैन । उनले गत सिजन मात्रै पनि युभेन्टसको जर्सीमा २९ लिग गोल गरे । जसले उनलाई सिरी ए को गोल्डेन बुट जितायो । सबै प्रकारको प्रतियोगितामा गरी उनको गोलसंख्या ३६ पुग्यो । 

उता ब्रुनोको प्रदर्शन पनि बलियो रह्यो । २६ वर्षिय एट्याकिङ मिडफिल्डरले म्यानचेस्टर युनाइटेडका लागि २८ गोल गरे भने १७ अस्सिट दर्ता गरे । ओले गनर सोल्स्यारले युनाइटेडलाई इंग्लिस प्रिमियर लिगमा दोस्रो बनाउँदा ब्रुनाे प्रमुख अस्त्र थिए । 

रोनाल्डोले लामो समय पोर्चुगलको टिममा नेतृत्वदायी भूमिका निर्वाह गरे । अब भने उनलाई सघाउन पर्याप्त संख्यामा अन्य खेलाडीको उदय भएको छ । त्यसमा बु्रनो जस्ता खेलाडी पनि छन् ।

जसले आफ्नो क्षमता म्यानचेस्टर युनाइटेडमा प्रमाणित गरेका छन् । उनले त्यही लय युरोमा पनि देखाउन सके, पोर्चुगल पक्कै पनि सम्भावित विजेताको सूचीमा रहनेछ । जहाँ सम्म पोर्चुगलको सबैभन्दा महत्वपूर्ण खेलाडी को? भन्‍ने सवाल छ, त्यसको छिनोफानो ब्रुनाे कि रोनाल्डोकै प्रदर्शनले गर्ला ।  


 


Author

थप समाचार
x