खेलकुद

नेपालले एसियन कप २०२३ छनौटको अन्तिम चरणमा

इकागज |
असार २, २०७८ बुधबार १५:३५ बजे

काठमाडौँ: नेपालले अब सिधै एसियन कप २०२३ छनौटको तेस्रो तथा अन्तिम चरण खेल्न पाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गरेको छनौट प्रक्रियामा गरेको परिवर्तन अनुसार नेपाल एसियन कप छनौटको तेस्रो चरणका लागि योग्य भएको हो । 

विश्वकप २०२२ तथा एसियन कप २०२३ छनौटको दोस्रो चरणमा नेपाल आफ्नो समूहमा चौथो भएको थियो । त्यसका आधारमा नेपालले एसियन कप छनौटको अन्तिम चरण पुग्न प्ले–अफको बाटो तय गर्नु पर्ने थियो । अब भने नेपालले सिधा प्रवेश पाएको छ । 


एसियन कप छनौटको अन्तिम चरणमा दक्षिण एसियाबाट नेपाल बाहेक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । प्ले–अफबाट दुई टिम छनौटको अन्तिम चरणमा पुग्नेछन् । त्यस दुई स्थानका लागि इन्डोनेसिया, क्याम्बोडिया, चाइनिज ताईपेई र गुआमले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि कुल २२ टिम अन्तिम चरणको छनौटमा भिड्नेछन् । 

एसियन कप २०२३ जुन १६ देखि जुलाई १६ सम्म चीनमा आयोजना हुँदैछ । जहाँ एसियाका कुल २४ टिमले भाग लिनेछन् । आयोजक चीन तथा डिफेन्डिङ च्याम्पियन कतार सहित १३ टिम एसियन कपका लागि छनौट भइसकेका छन् । 
 


Author

थप समाचार
x