खेलकुद

विश्‍वकप २०२२ का लागि कसरी छनौट हुन्छन् एसियाली टिम ?

इकागज |
असार २, २०७८ बुधबार १८:११ बजे

काठमाडौँ: विश्वकप २०२२ कतारमा हुँदैछ । पाँच कतारी सहरका आठ रंगशालामा नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकप सञ्चालन हुनेछ । विश्वकप दोस्रो पटक एसिया महादेशमा हुन लागेको हो । कुल ३२ टिमले भाग लिने विश्वकपमा आयोजक कतार बाहेक एसियाका चार वा पाँच टिम हुनेछन् । चार टिम महादेशिय छनौट पार गर्दै विश्वकपसम्म पुग्नेछन् ।

विश्वकप छनौटको दोस्रो चरण दौरान आ-आफ्ना समूहमा विजेता बनेका आठ टिम छनौटको तेस्रो चरणमा पुगेका छन् । त्यसैगरी, उप-विजेता बनेका आठ टिममध्येबाट पाँच टिमलाई उत्कृष्ट उप-विजेता चयन गर्दै तीनलाई पनि विश्वकप छनौटको तेस्रो चरणमा लगिएको छ । 


सिरिया, अस्ट्रेलिया, साउदी अरब, जापान, संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण कोरिया समूह विजेतको हैसियतमा तेस्रो चरण पुगेका हुन् । त्यस्तै, चीन, ओमान, इराक, भियतनाम र लेबननले उत्कृष्ट उप-विजेता बन्दै तेस्रो चरणमा आ-आफ्ना स्थान पक्का गरेका हुन् । यी १२ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र सबै टिमले एक-अर्काका विरुद्ध ‘होम एन्ड अवे’ खेल्नेछन् । यी खेल आउँदो सेप्टेम्बरमा हुने बताइएको छ । 

समूहका विजेता र उप–विजेता गरी कुल चार टिम स्वत कतारमा हुने विश्वकपका लागि छनौट हुनेछन् । त्यस्तै दुवै समूहमा तेस्रो स्थानमा रहने दुई टिम एक आपसमा भिड्नेछन् । र, विजय हुने टिमले अन्तर महादेशिय प्ले–अफ खेल्नेछ । त्यसमा विजयी भए विश्वकपका लागि छनौट हुनेछ । 

सन् २०१८ को विश्वकपका लागि इरान र जापान तेस्रो चरणका समूह विजेता र दक्षिण कोरिया तथा साउदी अरब समूह उप–विजेताकारुपमा छनौट भएका थिए । आ–आफ्ना समूहमा तेस्रो भएका सिरिया र अस्ट्रेलिया प्ले-अफमा भिडेका थिए । जसमा  ३-२ ले विजयी बनेको थियो । अन्तर महादेशिय प्ले-अफमा भने अस्ट्रेलियाले कोनकाकाफको होन्डुरसको सामना गरेको थियो । दुई खेल सम्मिलत प्ले-अफमा अस्ट्रेलियाले ३-१ को जित दर्ता गर्‍यो र रुस विश्वकपका लागि स्थान सुरक्षित गर्‍यो । 


Author

थप समाचार
x