खेलकुद

सर्जियो रामोस, रियलका अनन्तकालीन कप्तान

इकागज |
असार ३, २०७८ बिहिवार १०:१३ बजे

काठमाडौँ : युरोपको सबैभन्दा ठूलो प्रतियोगिता चलिरहेका बेला विश्वकै ठूलोमध्येको एक क्लबबाट नयाँ खबर आएको छ । जुन  एक हदसम्म अपेक्षित थियो । त्यो खबर हो, सर्जियो रामोसको । जसले रियल म्याड्रिडको १६ वर्षे बसाइलाई टुङ्ग्याउने भएका छन् । सन् २००५ मा सेभियाबाट स्पेनी राजधानी क्लब पुगेका रामोस आधुनिक रियलका महान् खेलाडीका रुपमा बाहिरिँदै छन् । कतिपयले रामोसको बर्हिगमनलाई एउटा युगको अन्त्य पनि भनेका छन् । 

रामोसको रियलसँगको सम्झौता यही जुन ३० मा सकिँदैछ । सम्झौता नविकरण नहुने भएपछि रामोस र रियलबीच सम्बन्ध बिच्छेद हुन लागेको हो । पछिल्ला केही महिना रामोसले रियलसँगको बसाइ लम्बाउँछन् वा लम्बाउँदैनन्, भन्‍ने विषयमा अनुमान र बहस भइरहेको थियो । अन्ततः निर्णय आयो, कप्तान र रियलबीचको सम्बन्धमा पूर्णविराम । 


३५ वर्षीय रामोसले रियलको जर्सीमा १६ सिजन बिताए । कुल छ सय ७१ खेल खेले, एक सय एक गोल गरे र २२ उपाधि जिते । रामोसभन्दा पाको जेन्टोले मात्रै रियलबाट धेरै उपाधि जितेका छन् । तर एक विभागमा दुईको तुलना हुँदैन । त्यो भनेको च्याम्पियन्स लिग । जहाँ रामोस सर्वाधिक सफल छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको उपाधि रामोसले चार पटक उचालेका छन् । 

सन् १९९२ मा युरोपियन कप प्रतियोगिता च्याम्पियन्स लिग बन्यो । त्यसयता रियल सात पटक च्याम्पियन बनेको छ । सन् २०१६ देखि २०१८ सम्म रियलले तीन च्याम्पियनस लिग जित्यो । त्यो पनि रामोसको कप्तानीमा । जुन आफैँमा दुलर्भ कीर्तिमान हो । च्याम्पियन्स लिगमा रियलको जर्सीमा रामोसको प्रदर्शन सधैँ लोभलाग्दो रहेको छ । 

झन् २०१४ को फाइनलमा त उनको खेल जीवनकै विशेष रह्यो । सहरी प्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडविरुद्धको फाइनल रामोसकै गोलका कारण एक्स्ट्रा समयतर्फ धकेलिएको थियो । जहाँ अन्ततः रियल विजयी भयो । रामोस रियलका लागि कति महत्वपूर्ण रहे ? सन् २०१४ को च्याम्पियन्स लिग फाइनल यस प्रश्नको उत्तर दिन सक्षम छ । यस्ता धेरै खेल छन् जहाँ रामोसले आफ्नो बलमा रियललाई जिताएका छन् । अनि एल क्लासिकोमा रामोसले देखाउने आक्रामक खेललाई कहाँ बिर्सन सकिन्छ ?

‘रामोस टिम लिडर हुन् । उनको व्यक्तित्वले उनलाई कुनै पनि टिमको स्वत : लिडर बनाउँछ । उनी कुनै पनि टिमविरुद्ध मैदान उत्रन डराउँदैनन् । सधैँ सकारात्मक देखिन्छन्,’ रियलका नयाँ प्रशिक्षक कार्लो एनसिलोट्टीले आफ्नो पुस्तकमा लेखेका छन् ।  

रामोसले रियल करियर राइटब्याकबाट सुरु गरेका थिए । तर पछि उनलाई सेन्ट्रल डिफेन्समा सारियो । पोर्चुगलका पेपे घाइते भएपछि २००९-१० सिजन दौरान जोसे मौउरिन्होले रामोसलाई सेन्ट्रल डिफेन्समा ताने । त्यसपछिका सिजनमा रामोस सोही पोजिसनमा स्थापित भए । 

रामोस विश्वस्तरिय रक्षक हुन् । अनि अतुलनीय कप्तान । ‘पनेका’ पेनाल्टी र अन्तिम क्षणको ट्याकलले उनको खेलमा मिठास थपेका छन् । निर्णायक समयमा उनले गर्ने हेडर गोलहरूले त झन् रियललाई अप्रत्याशित टिम बनाएका थिए । नयाँ पुस्ताका समर्थकका लागि रामोस रियलका पर्यायवाची हुन् । उनीहरूले रामोसविनाको रियल नै देखेका छैनन् ।

रामोसलाई सेभियाबाट सान्टियागो बेर्नाबाउ ल्याउन रियलले अगस्ट, २००५ मा २७ मिलियन युरो खर्च गरेको थियो । सेप्टेम्बरमा रामोसले आफ्नो नयाँ क्लबमा डेब्यु गरे । रियलकै घरेलु मैदानमा हुँदै गरेको सेल्टा भिगोविरुद्धको खेलको दोस्रो हाफमा रामोस मैदान प्रवेश गरेका थिए । वान्डेरले लक्जेमबर्गोले रामोसलाई रियलमा डेब्यू गराए । त्यसयता रामोसले १२ फरक प्रशिक्षकको नेतृत्वमा खेले ।  

रामोसले रियल छाड्ने हल्ला पटक-पटक नचलेको होइन । सन् २०१० को ‘समर विन्डो’ मा रामोस म्याननचेस्टर युनाइटेड जान चाहे । सुरुवातमा उनको र समर्थकको दूरी बढ्यो । अनि क्लब अध्यक्ष फ्लोरिन्टनो पेरेजसँगको सम्बन्धमा पनि तनाव सिर्जना भयो । तर अन्ततः पेरेजले रामोसको तलब बढाइदिएर रक्षकलाई स्पेनी राजधानीमै राखे । उसो त रामोसले पेरेजसँग भिड्ने निधो गर्दा, क्लब समर्थकले रामोसकै समर्थन गरे । पेरेजसँग त यसअघि नै समर्थक रुष्ट थिए ।

रामोसले रियलको बसाइ लम्ब्याउने निर्णय गर्दा उनको ‘क्लब लेजेन्ड स्टाटस’ पक्का भयो । अनि रियललाई पनि रामोसको उपस्थिति फलदायी सावित भयो । विशेषगरी युवा रक्षक राफाएल भारानको खेल विकासमा रामोसको भूमिका उल्लेख्य रह्यो । ‘रामोस हाम्रा कप्तान हुन् । हामी चाहन्छौँ, उनी सधैँ रियलमै रहुन्,’ क्रिसमस अगाडि जिनेदिन जिदानल भनेका थिए । तर अब जिदान आफैँ रियलमा छैनन् । अनि जुन ३० पछि रामोस पनि रियलमा रहने छैनन् । 

खेल कौशल दाँज्‍ने हो भने, रियलमा रामोसभन्दा बलिया रक्षक अरु पनि देखिएकै हो । खेल प्रतिभाका हिसाबले क्रिस्टियानो रोनाल्डो रामोसभन्दा कयौँ गुणा राम्रा खेलाडी हुन् । अनि अल्फ्रेडो स्टेफानो र जिदान पनि रामोसभन्दा उम्दा खेलाडी रहे । तर २१ औँ शताब्दीमा रामोस रियलका सबैभन्दा ठूला ‘आइकन’ हुन् । आउँदा सिजन रामोसले जुनसुकै क्लबबाट पनि खेल्न सक्छन् । तर अबका वर्ष जुन सुकै क्लबको जर्सी लगाए पनि रामोस सधै‌ रियलकै रहनेछन् । (गोल डटकमको सहयोगमा) 


 


Author

थप समाचार
x