खेलकुद

सम्झनामा म्याराडोना

जसले प्रशंसाका लागि मृत्यु कुर्न परेन

अजय अलौकिक |
मंसिर ११, २०७७ बिहीबार १२:३० बजे

म्याराडोनाको नाम सुन्‍ने बित्तिकै फुटबल मैदानको बीच भागबाट विपक्षी खेलाडीलाई कलात्मक ढंगले छक्याउँदै र बललाई नियन्त्रणमा लिँदै विपक्षी गोल पोस्टमा गरेको गोल मन मस्तिष्कमा चल्न थाल्छ । प्राय देखिरहेका फुटबल खेलाडीभन्दा केही होचो देखिने मोटोघाटो म्याराडोनाले त्यसरी कलात्मक ढंगले विपक्षीतिर गरेको सबै प्रहार गोल भएका पनि होइनन् । तापनि उनको त्यो जुझारूपन, बलसँगको बेजोड सम्बन्ध त्यो कला जादुमयी छ ।

कुनै जादुगरको प्रस्तुती जस्तो या चित्रकारले चित्र उतारिरहेको जस्तो उनको खुट्टामा बल परेपछि यस्तैयस्तै लाग्छ । उनको यो कलालाई सन् १९८२ फुटबल विश्वकपमा नै विश्वका खेलप्रेमीले देख्‍न पाए तापनि सन् १९८६ को विश्वकपमा मात्र सारा विश्वले हेर्न पाएको थियो । त्यो समय टेलिभिजनको विकासको युग थियो, जसले गर्दा विश्वभरि टेलिभिजन पुगिसकेको थियो । विश्वभरिका घटनाहरू सो टेलिभिजनमा हेर्न सुन्‍न पाइन्थ्यो ।


हाल जसरी फेसबुक लाइभको चलन छ, त्यस बखत टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्नु साँचो अर्थमा विश्व एउटा सानो गाउँमा परिणत भइरहेको बुझ्‍न कठिन थिएन । नेपालमा पनि नेपाल टेलिभिजनको (सन् १९८५) स्थापना भइसकेको थियो । तर घरघरमा टेलिभिजन नभए तापनि टेलिभिजन भएको घरमा गएर मनपर्ने या लोकप्रिय मानिएका टेलिभिजन कार्यक्रम हेर्ने चलन बसेको थियो । यसैबीच नेपाल टेलिभिजनले सन् १९८६ फुटबल विश्वकप मेक्सिकोका केही खेलहरूको रेकर्ड प्रसारणसँगै फाइनल खेल प्रत्यक्ष प्रसारण गरेको थियो ।

यसै फाइनल खेलमा फुटबल महारथी तत्कालीन पश्चिम जर्मनीविरूद्ध उत्रेको थियो दक्षिण अमेरिकाको अर्को महारथी अर्जेन्टिना र यसै खेलमा सारा विश्व झुलेका थिए, भुलेका थिए म्याराडोनाको खेल कौशलमा । यही विश्वकपमा क्याप्टेनसमेत रहेका जादुगर म्याराडोनाले अर्जेन्टिनालाई दोस्रो विश्वकप जिताएका थिए । सो फाइनल खेलमा अर्जेन्टिना म्याराडोनाको पासमा होर्खे बुरूचागाले खेलको ८३ मिनेटमा गरेको निर्णायक गोलले पश्चिम जर्मनीविरूद्ध दुईको विरूद्ध तीन गोलले विश्व विजेता बनेको थियो । साथै सो विश्वकपमा उनले पाँच गोलका साथै पाँच (एसिस्ट) गोलका लागि पास उपलब्ध गराएका थिए । यसरी अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउनुसँगै चाहेर या नचाहेर असंख्य फुटबलप्रेमीको मनमा उनले बास गरेका थिए । त्यो बास, त्यो छाप अमित छ, सदा अजम्बरी रहने छ ।

फुटबल महारथी तत्कालीन पश्चिम जर्मनीविरूद्ध उत्रेको थियो दक्षिण अमेरिकाको अर्को महारथी अर्जेन्टिना र यसै खेलमा सारा विश्व झुलेका थिए ।

उनैको नेतृत्वमा अर्जेन्टिनाले सन् १९९० को विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेको थियो तर दुर्भाग्य अन्तिम पलमा दिइएको पेनाल्टीलाई जर्मनीले गोलमा परिणत गरेपछि उपविजेताको रूपमा चित्त बुझाउन परेको थियो । तर रेफ्रीको अन्तिम सिट्ठीपछि जसरी म्याराडोना रोए नि त्यसले उनका सारा प्रशंसकलाई पनि धुरूधुरू रूवायो । यसपछि उनको खेल जीवन लागूपदार्थ सेवन तथा विवादास्पद टिप्पणी र बोलीबचनका कारण ओझेलमा पर्न गयो । खेलाडी कहिले हार मान्दैन भने झैँ उनी सन् १९९४ को विश्वकपमा तङ्ग्रिएर आएका पनि थिए तर शक्तिवर्द्धक औषधिको प्रयोग गरिएको पाएपछि उनी निलम्बनमा परे र धेरैपछिसम्म क्लबस्तरीय फुटबलमा मात्र देखा परे र सन् १९९७ मा व्यवसायिक फुटबलबाट सन्यास लिए ।

साथै सन् २००८ मा उनी अर्जेन्टिना फुटबल टिमको प्रशिक्षकमा नियुक्त पनि भए तर प्रशिक्षकको रूपमा उनीमाथिको आशा सन् २०१० को विश्वकप क्‍वाटर फाइनलमा जर्मनीसँग पराजित भएसँगै तुहिएको थियो । यसैबीच र आजसम्म पनि अर्जेन्टिनासँगै विश्वमा कोही राम्रा खेलाडी देखिए कि म्याराडोनासँग तुलना गर्ने पनि गरिन्छ या त्यस खेलाडीमा म्याराडोना खोज्‍ने पनि गरिएको छ । चाहे त्यो मेस्सी होस् या ओर्टेगा या रिकेल्मे । उनका प्रशंसकहरू विश्व फुटबल जगतमा उनी जस्तो कोही नभएको ठोकुवा गर्छन् ।

फुटबल इतिहासलाई केलाउँदा कालो हीरा नामले परिचित ब्राजिलका पेलेले सन् १९६० र ७० दशकलाई आफ्नो बनाएका थिए भने म्याराडोनाले ८० को दशकमा आफ्नो वर्चश्व राखेको देखिन्छ । तर उनको अद्भुत कलाप्रति जो कोही नतमस्तक छन् । उनी सर्वकालिन महान खेलाडी हुन् भन्ने कुनै शंका या दुविधा छैन । उनको जन्म सन् १९६० अक्टुबर ३० मा अर्जेन्टिनाको राजधानी ब्यूनस एरिसमा भएको थियो । उनले जुनियर लेभलमा देखाएको उत्कृष्ट प्रदर्शनपछि सन् १९८१ मा अर्जेन्टाइन क्लब बोका जुनियर्स हुँदै स्पेनको बार्सिलोनामा सबैभन्दा महँगो खेलाडीको रूपमा आबद्ध हुन पुगेका थिए र सन् १९८४ मा ईटालीको नेपोली क्लबमा आबद्ध भएका थिए ।

आजसम्म पनि अर्जेन्टिनासँगै विश्वमा कोही राम्रा खेलाडी देखिए कि म्याराडोनासँग तुलना गर्ने पनि गरिन्छ या त्यस खेलाडीमा म्याराडोना खोज्‍ने पनि गरिएको छ ।

उनले अर्जेन्टिनाका लागि ९१ वटा खेलमा ३४ गोल गरेका थिए । उनले सन् १९७६ मा अर्जेन्टाइनोज जुनियर्सबाट फुटबल खेल्न सुरू गरी अर्जेन्टिनाको सिनियर क्लब बोका जुनियर्स, स्पेनको बार्सिलोना, इटालीको नेपोली, स्पेनको सेभिल्ला र अर्जेन्टिनाको न्यूवल्स ओल्ड बोए र अन्तमा फेरि बोका जुनियर्समा सन् १९९५ मा आबद्ध भइ सन् १९९७ मा व्यवसायिक फुटबल खेलाडीका रूपमा विश्राम लिए पनि फुटबल प्रबन्धक र प्रशिक्षकको रूपमा सन् १९९४ देखि थालेको यो कार्य २०२० सम्म निरन्तर चलिरहेको थियो । उनी पछिल्लो पटक मेक्सिकन क्लबपछि अर्जेन्टाइन क्लबका प्रबन्धक रहेका थिए ।

उनै महान खेलाडी म्याराडोनाको ६० वर्षको उमेरमा नोभेम्बर २५ तारिख कार्ड्याक एरेस्टका कारण निधन भएको छ । साथै उनको केही हप्ताअघिमात्रै ब्रेन सर्जरी गरिएको थियो । उनको निधनमा अर्जेन्टाइन सरकारले तीन दिने शोक मनाउने भएको छ । उनको मृत्युले फुटबलसँगै सबै खेलप्रेमीलाई शोकाकुल बनाएको छ । उनको मृत्युसँगै विश्वले श्रद्धाञ्जलीस्वरूप भावनात्मक शब्दहरू व्यक्त गर्ने छन्, गरिरहेका छन् । तर उनी एउटा यस्तो मानव पनि हुन्, जसले प्रशंसाका लागि मृत्यु कुर्न परेको थिएन ।

साथै उनको जीवनशैलीका कारण धेरै पटक बदनाम पनि भए, विवादमा तानिए पनि । तर फुटबल खेलाडीको रूपमा उनलाई सबैले महानभन्दा पनि महानको दर्जा दिएका छन् । हुन त उनको सन् १९८६ को ईङ्लयाण्डविरूद्धको खेलमा हातद्वारा गरिएको गोलको विरोध अझै हुने गरेको छ तर उनले यो हात भगवानको भएको टिप्पणी गरेका छन् । अब उनको यो ह्याण्ड अफ गडसँगै उनी पनि भौतिक संसारबाट विलिन भएर भगवानमा लिन हुन पुगेका छन्, अजर अमर भएका छन् । विश्वकै एक आकर्षक, कुशल, प्रतिभाशाली, जादुगर, महान सर्वकालिन खेलाडी डिएगो अर्माण्डो म्याराडोनालाई श्रद्धासुमन ।


Author

थप समाचार
x