खेलकुद

म अझै दुई वर्ष रियल म्याड्रिडमा बस्‍न चाहन्थेः सर्जियो रामोस

इकागज |
असार ४, २०७८ शुक्रबार १४:५० बजे

काठमाडौँ: सर्जियो रामोसले बिहीबार रियल म्याड्रिड समर्थकसँग बिदा मागे । आउँदो जुन ३० मा रामोसको रियलसँगको सम्झौता सकिँदैछ । १६ वर्ष स्पेनी राजधानीमा बिताएका रामोसलाई रियलले एक वर्षे नयाँ सम्झौता प्रस्ताव गरेको बताइएको थियो । तर अन्ततः रामोसले रियल छाडेको घोषणा गरे । 

रियलले रामोसलाई एक वर्षे नयाँ सम्झौता प्रस्ताव गर्दा १० प्रतिशत कम तलब दिने बतायो । रामोसले भने सम्झौता दुई वर्ष लामो हुनु पर्ने माग राखे । अन्तिममा भने रामोसले त्यही एक वर्षे सम्झौतामा राजी हुने निर्णय लिए । तर पछि त्यही प्रस्ताव पनि रामोसका लागि औपचारिक रुपमा राखिएन । 


‘म एक वर्षका लागि भए पनि रियलमा बस्‍न तयार थिए । तर सुरुमा राखिएको प्रस्तावको म्याद सकिएको भनियो । मलाई त्यस किसिमको उत्तरले अचम्मित तुल्यायो । मलाई त्यस प्रस्तावको पनि मिति थियो भन्ने थाहा भएन । मलाई पैसाको प्रवाह थिएन । म बस् रियलमा बस्‍न चाहन्थे । तर एक होइन, दुई वर्ष,’ रामोसले आफ्नो बिदाइमा भने । 

३५ वर्षिय रक्षक रामोसले गत जनवरीबाटै नयाँ क्लबसँग स्थान्तरणका लागि छलफल गर्नसक्थे । तर आफूले कुनै पनि क्लबसँग कुरा नगरेको बताए । ‘किनभने मेरो इच्छा रियलमै रहने थियो । तर सोचेजस्तो भएन । मेरा लागि एउटा युगको अन्त्य भएको छ । अब नयाँ यात्रा सुरु हुनेछ । अहिले नै यही क्लब जाने भन्ने निर्क्यौल गरेको छैन । तर आशा छ मेरो स्थान्तरण सही क्लबतर्फ हुनेछ,’ रामोसको भनाइ थियो । 

रामोसले फ्रेन्च लिगको पेरिस सेन्ट जर्मेन (पीएसजी) वा इंग्लिस प्रिमियर लिगका ठूलामध्येका कुनै एटा टिम रोज्ने अनुमान गरिएको छ । यद्यपि सेभियातर्फको सम्भावित स्थान्तरण भने रामोस आफैँले इन्कार गरिसकेका छन् । 

१९ वर्षको उमेरमा रियल पुगेका रामोसले चार च्यामिपयन्स लिग सहित २२ उपाधि जितेका छन् । फ्लोरेन्टिनो पेरेज अध्यक्ष हुँदा नै रियलले सेभियाबाट रामोसलाई २ करोड ७० लाख युरो स्थान्तरण रकम तिरेर अनुबन्ध गरेका थिए ।  


Author

थप समाचार
x