Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

खेलकुद

‘काठमाडौँ महानगरपालिका, पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु

इकागज |
जेठ २४, २०८१ बिहीबार २०:१९ बजे

काठमाडौँ- आजदेखि ‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु भएको छ ।

नेपाल बिलियार्डस स्नुकर तथा पुल संघले एभरेष्ट होटल बानेश्वरमा सुरु गरेको प्रतियोगिताका खेलाडीहरूको प्रोत्साहनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार केसी शुभारम्भ अवसरमा सहभागी भएका थिए । त्यस क्रममा प्रमुख शाह, उपप्रमुख डंगोल र समितिका संयोजक केसीले क्युबलले ब्रेक गरेका थिए ।


त्यसपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले युवाहरूका बीचमा लोकप्रिय खेलका रूपमा परिचित स्नुकरलाई रचनात्मक विकासमा उपयोग गर्न लागिएको बताइन् । यस्तै सामाजिक समितिका संयोजक केसी ले, महानगरपालिकाले खेल क्षेत्रमा लगानी बढाउँदै गएको र यसबाट युवाहरूलाई सिर्जनशील हुन सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन् । खेल नकआउटका आधारमा हुनेछ । ४ वटा बोर्डमा आज १६ वटा खेल हुनेछन् । १८ वर्षदेखि ५४ वर्षसम्मका खेलाडीहरू प्रतियोगितामा सहभागी छन् । 

७२ स्क्वायर फिटको टेवलमा यो खेल खेलिन्छ । संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीका अनुसार भारतमा बेलायती सैनिक क्याम्पमा सैनिकहरूको मनोरञ्जनका लागि खेल थालिएको हो । ‘अनुशासन, धैर्यता, एकाग्रता र व्यवहारिक सीपयुक्त यो खेल राष्ट्रिय खेलका रुपमा स्थापित हुन सकेको छैन,’ मुल्मीले भने, ‘खेलाडीहरूले अन्तर्राष्‍ट्रिय स्नुकर च्याम्पियनसिपमा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गरेका छन् । नेपाल अन्तर्राष्‍ट्रिय स्नुकर च्याम्पियनसिपका दृष्टिले १६ औँ उत्कृष्ट स्थानमा छ । खेलको विकास र विस्तारका लागि प्राप्त सहयोगबाट स्नुकर राष्ट्रिय खेलका रूपमा स्थापित हुनेछ ।’

महानगरपालिकाको नेतृत्व युवाको हातमा पुगेकोले स्नुकरले स्थान पाएको बताउँदै अध्यक्ष मुल्मीले महानगरपालिकाको लगानीबाट युवाहरूमा सकारात्मक उर्जा प्रवाह भएको उल्लेख गरे ।

खेलका विजेतालाई नगद २ लाख ५१ हजार रुपैयाँ, उपविजेतालाई नगद १ लाख रुपैयाँ र सेमी फाइनलिष्टलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । यस्तै १४७ को म्याक्सिमम हाइएष्ट व्रेक गर्नेलाई नगद ७५ हजार रुपैयाँ, सेन्च्युरी (१००) ब्रेक गर्नेलाई नगद ५० हजार रुपैयाँ र ८० को हाइएष्ट व्रेक गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ ।

क्वाटर फाइनलिष्टलाई नगद १० हजार रुपैयाँ, प्रि क्वाटर फाइनलिष्टलाई नगद ५ हजार रुपैयाँ, वेष्ट प्लेयर र वेष्ट राइजिङ् प्लेयरलाई १५-१५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ । खेलको समापन जेठ २९ गते हुनेछ ।


Author

थप समाचार
x