खेलकुद

विराटनगर सिटी एफसी र भुटानी क्लब पारो एफसीबीच सम्झौता

इकागज |
असार ५, २०७८ शनिबार १४:१० बजे

काठमाडौँ: नेपालको विराटनगर सिटी एफसी र भुटानी क्लब पारो फुटबल क्लबबीच सहकार्य हुने भएको छ । गत बैशाखमा सम्पन्न फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) मा सहभागी भएको विराटनगर र भुटानको राष्ट्रिय लिग खेल्ने पारोबीचको सम्झौताबारेमा शनिबार जानकारी गराइएको हो । 

सम्झौता अनुसार दुई क्लबका खेलाडी एक आपसको टिममा गएर खेल्न सक्नेछन् । भविष्यमा दुई क्लबबीच मैत्रीपूर्ण खेल खेल्ने सम्भावना रहेको पनि विराटनगरले जानकारी दिएको छ । हालका लागि सम्झौता एक वर्षका लागि भएपनि भविष्यमा यसको अवधि बढाइनसक्ने विराटनगरको भनाइ छ । 


एनएसएलको पहिलो संस्करणको लिग चरणबाटै बाहिरिएको विराटनगरले हाल युवा खेलाडीहरुको पहिचान गर्ने र उनीहरलाई अभ्यास गराउनेतर्फ अघि बढिरहेको छ । ती खेलाडीले भविष्यमा भुटानी लिगमा प्रतस्पर्धा गर्ने सम्भावना रहेको छ । त्यस्तै पारोबाट विराटनगरले एनएसएलका लागि खेलाडी अनुबन्ध गर्नसक्नेछ । 

सन् २०१९ मा भुटानी लिग जितेको पाराले एएफसी कपको छनौटको प्रारम्भिक चरण खेलेको थियो । पहिलो खेलमा श्रीलंकन विपक्षीलाई अवे गोलका आधारमा हराएको पाराले दोस्रो खेलमा बलियो बेगंलुरु एफसीलाई घरेलु मैदानमा १-१ को बराबरीमा रोकेको थियो ।  

विराटनगरले अन्य दक्षिण एसियाली क्लबसँग पनि सहकार्य गर्न छलफल गरिरहेको छ । विराटनगर क्लब स्रोतका अनुसार श्रीलंका र बंगलादेशका केही क्लबहरूसँग सम्झौताका लागि कुराकानी अघि बढेको छ ।  


Author

थप समाचार
x