सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन सुबाश शीर्षस्थानमा
काठमाडौँ- डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले ५-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा १२-अन्डर २ सय ४ सहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको तेस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन् ।
सुबाशले दोस्रो दिनका संयुक्त लिडर भुवन नगरकोटी र दिनेश प्रजापतिलाई अन्तिम १८ होलको खेल बाँकी रहँदा एक स्ट्रोकले पछि पारे। यो सँगै उपाधि होड निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ ।
दिनेश र भुवनले समग्रमा ११-अन्डर २ सय ५ स्कोर गरे । उनीहरू दुवै बिहीबार १-अन्डर ७१ खेल्दै मा संयुक्तरुपमा दोस्रो स्थानमा झरे । एमेच्योर सदभाव आचार्य र धरानका प्रो निरज तामाङ समग्रमा ९-अन्डर २ सय ७ स्कोर सहित संयुक्तरुपमा चौथो स्थान बाँडे । दुवैले तेस्रो दिनको खेल २-अन्डर ७० मा पूरा गरे ।
१-अन्डर ७१ सहित समग्रमा ६-अन्डर २ सय १० को स्कोरमा तोरण विक्रम शाही छैटौं स्थानमा छन् । एमेच्योर विजय श्रेष्ठ आइन्हाउस ५-अन्डर २ सय ११ को स्कोरमा सातौं, ४-अन्डर २ सय १२ सहित जयराम श्रेष्ठ आठौं र १-अन्डर २ सय १५ सहित एमेच्योर सुमन परियार नवौं स्थानमा रहे । विजय र जयरामले इभन-पार ७२ तथा सुमनले ३-ओभर ७५ को स्कोर कार्ड बनाए ।
समग्रमा इभन-पार २ सय १६ को स्कोरमा एमेच्योरद्वय राहुल विश्वकर्मा र तेन्जिङ पाल्देन तथा प्रो सञ्जय लामाले संयुक्तरुपमा दशौं स्थान बाँडे । राहुलले ३-अन्डर ६९, तेन्जिङले १-अन्डर ७१ र सञ्जयले ४-ओभर ७६ मा दिनको खेल सकाए ।
दोस्रो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका सुबाशले शीर्षस्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे । चौथो होलमा एक सट खेर फाले भने तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि ५-पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे भने लगतै १३औं होलमा एक सट बचाए । ब्याक नाइन ३-अन्डर ३३ मा सकाए । एमेच्योर गल्फर हुँदा पाँच प्रतियोगिता जितेका सुबाश प्रो बनेपछि पहिलो उपाधि जित्ने दाउमा रहेका छन् ।
दिनेशले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । यसपछि ११औं होलमा पनि एक सट बचाए । तर १२औं होलको डबल बोगी र १५औं होलको बोगीले ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए ।
भुवनले पनि दिनेशले जस्तै फ्रन्ट नाइन ३-अन्डर ३३ मा र ब्याक नाइन २-ओभर ३८ मा पुरा गरे । सुरूवात राम्रो गर्ने क्रममा दोस्रो, तेस्रो, पाँचौ र सातौं होलमा चार बर्डी प्रहार गरे । आठौं होलमा एक सट खेर फाले । यसपछि १४औं होलमा बिर्सनलायक प्रदर्शन गरे । भुवनले ४-पारको उक्त होलमा दुई पटक आउट अफ बाउन्ड्स (ओबी) प्रहार गर्दा चार सट खेर फाले । तर १७औं र १८औं होलको बर्डीले उनलाई केहि राहत मिल्यो ।
एमेच्योर सदभावले फ्रन्ट नाइन र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए । उनले तेस्रो, चौथो र ११औं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा बोगी खेपे । निरजले दोस्रो र आठौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए । यसपछि ११औं होलको बोगी विरूद्ध १२ औ होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए ।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको सबै भन्दा ठूलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको छ । प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन। यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो-एम प्रतियोगिता शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया