खेलकुद

सजिलै हार नमान्‍ने टाबरेज र उनको उरुग्वेली टिम

इकागज |
असार ७, २०७८ सोमबार १४:४८ बजे

काठमाडौँ: कोपा अमेरिकामा शनिबार उरुग्वेले प्रतिद्वन्द्वी अर्जेन्टिनासँग १–० को हार व्यहोर्‍यो । कोपामा आफ्नो पहिलो खेल नै हारेपछि उरुग्वेको पीडा थपिएको छ । उरुग्वेले सन् २०२१ मा तीन खेल खेलेको छ । ती सबै खेल हारेको छ भने एक गोल पनि गर्न सकेको छैन । 

कोपामा अर्जेन्टिनाविरुद्धका पछिल्ला पाँच खेलमा उरुग्वे जितविहिन छ । लुइस स्वारेज र एडिन्सन काभानी सहितको अग्रपंक्तिले अर्जेन्टिनाविरुद्ध खासै आक्रमण बुन्न सकेन । पाका स्ट्राइकर खेलाएको उरुग्वेका प्रशिक्षक ओस्कार टाबरेज हुन् । जसले सन् २००६ यता उरुग्वेको जिम्मेवारी सम्हालिरहेका छन् ।  


टाबरेज उरुग्वेली फुटबलमा ‘लेजेन्ड’ मानिन्छन् । उनले उरुग्वेलाई कोपा जिताएका छन् । सन् १९७० यता विश्वकपको सेमिफाइनल पुग्न नसकेको उरुग्वेलाई विश्वकप २०१० मा त्यस्तो सफलता दिलाए । टाबरेज ७४ वर्ष पुगिसके । अनि उनलाई स्वास्थ्यले पनि दुख दिइरहेको छ । उनमा ‘गुइलान बार्रे सिन्ड्रोम’ पनि छ । जसका कारण ‘मसल विकनेस’ को समस्या झेलिरहेका छन् । तर पनि उनले आफ्नो जिम्मेवारी त्यागेका छैनन् ।

टाबरेज राम्रोसँग हिड्न सक्दैनन् । र, पनि गोलको खुशीयालीमा उफ्रिरहेका हुन्छन् । जारी कोपा समेत गरी कुल सात कोपामा टाबरेजले उरुग्वेको नेतृत्व गरेका छन् । कोपाको इतिहासमा टाबरेजले भन्दा तीन प्रशिक्षकले मात्रै बढी खेलको अनुभव बटुलेका छन् । टाबरेजको प्रशिक्षण अनुभव उरुग्वेमा मात्रै सीमित छैन । उनी कुनै समय इटालीको एसी मिलान र अर्जेन्टिनाको बोका जुनियर्स जस्ता क्लबका समेत प्रशिक्षक थिए । 

टाबरेज प्रशिक्षक बन्नु अघि उरुग्वेकै एक प्राथमिक विद्यालयमा शिक्षक थिए । त्यसअघिको उनको परिचय खेलाडीकै थियो । उनले आफ्नो करियर दौरान दक्षिण अमेरिकाका विभिन्न क्लबबाट खेले । सन् १९८० बाट उनले प्रशिक्षण करियर सुरु गरे । त्यसको तीन वर्षपछि उनले उरुग्वे कै अण्डर–२० टिमको प्रशिक्षक बने । सन् १९८८ बाट उनले उरुग्वेको सिनियर टिम सम्हाल्न थाले । कोपा १९८९ मा टाबरेजले उरुग्वेलाई उप–विजेता बनाए । 

सन् २००६ मा टाबरेज दोस्रो पटक उरुग्वेको प्रशिक्षक बने । त्यस वर्षको विश्वकपमा छनौट नै हुन नसकेको उरुग्वेलाई टाबरेजले विश्वकप २०१० को सेमिफाइनल पुर्‍याए । त्यसपछिका संस्करणमा भने उरुग्वे क्रमशः अन्तिम १६ र अन्तिम आठमा पुग्यो । कमजोर अवस्थामा रहेको उरुग्वेलाई टाबरेजले बलियो बनाएको मान्छन्, खेलाडीहरू । 

‘टाबरेज आउँदा हाम्रो टिमको अवस्था कमजोर थियो । कोपा तथा विश्वकपमा हामीले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनौ । पछिल्लो समय हामीले जे जति हासिल गरेका छौ, त्यो सबै टाबरेजको देन हो । आज उरुग्वेको विश्व फुटबलमा इज्जत छ । टाबरेज बिना यो सम्भव थिएन,’ उरुग्वेका गोलक्षक फर्नान्डो मुस्लेराले भनेका छन् ।टाबरेज सम्भवत उरुग्वे प्रशिक्षण करियरको उर्ताद्धमा छन् । स्वारेज, काभानी लगायतका उनका मुख्य खेलाडीहरु पनि आ–आफ्ना करियरको उर्ताद्धमा छन् ।

त्यसको असर उरुग्वेको अहिलेको लयमा देखिएको छ । तर उरुग्वे कमजोर भइसकेको भने छैन । उरुग्वेमा कयौँ युवा प्रतिभा छन्, स्वारेज वा काभानीलाई प्रतिस्थापन गर्नसक्ने । वास्तवमा टाबारेजले उरुग्वेको फुटबलमा जग बसाएका छन् । उनको अनुपस्थितीमा पनि उरुग्वेको राष्ट्रिय टोलीमा स्तरिय खेलाडीहरू आउन छाड्ने छैनन् । क्षेत्रफलका आधारमा उरुग्वे दक्षिण अमेरिकाको दोस्रो सानो मुलुक हो । जनसंख्या पनि ३५ लाख भन्दा बढी छैन । यद्यपि उरुग्वेले विश्वस्तरिय फुटबल खेलाडी उत्पादन गरिरहेको छ ।

हुन त उरग्वेले सन् १९३० मै विश्वकप जितिसकेको थियो । तर पछिल्लो समय उरग्वे बलियो टिम बन्नुमा टाबरेजको भूमिका अहम छ । उनकै प्रत्यक्ष निगरानीमा उरुग्वेका उमेर समूहका टिमको व्यवस्थापन गरिन्छ । त्यति मात्रै होइन, टारेजकै पहलमा उरुग्वेको सिनियर टिमले अभ्यास गर्ने मैदान देखि अन्य पूर्वाधार समेत स्तरोन्नती गरिएको छ । त्यस भन्दा पनि महत्वपूर्ण पक्ष भनेको उरुग्वेली खेलाडीहरुको सजिलै हार नमान्ने मानसिकता हो । हुन त टाबरेज आफैँ पनि सजिलै हार मान्ने प्रशिक्षक होइनन् । 


Author

थप समाचार
x