खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

इकागज |
असार ८, २०७८ मगलवार १३:२३ बजे

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो । खेलाडी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले तयारी सुरु गरेको हो । मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो ।

स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गरेको हो । सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ । क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन् । प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल सहभागी छन् । त्यस्तै


विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ पनि प्रशिक्षणमा छन् । मुख्य प्रशिक्षक वाटमोरले बन्द प्रशिक्षणलाई प्रभावकारी बनाइने बताए । उनले नेपाली खेलाडीले कडा मेहनत गरेको र आगामी खेलमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलका लागि नेपाली टिमले कडा मेहनत गर्ने र राम्रो नजिता ल्याउने बताए ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।


Author

थप समाचार
x