अर्जेन्टिनाबाट सर्वाधिक खेल खेल्ने १० खेलाडी
काठमाडौँ: जारी कोपा अमेरिकामा मंगलबार बिहान अर्जेन्टिनाले पाराग्वेलाई हरायो । खेलको एक मात्र गोल अलेहान्द्रो गोमेजले गरे । कोपामा अपराजित रहेको अर्जेन्टिनाले तीन खेलबाट सात अंक बटुल्यो । र, समूह विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्यो ।
समूह चरणका अघिल्ला दुई खेलमा गोल तथा असिस्ट गरेका लियोनल मेस्सी पाराग्वेविरुद्धको खेलमा निर्णायक बनेनन् । तर उनले अर्जेन्टिनाका पूर्वकप्तान हाभियर मासिरानोले राखेको कीर्तिमान बराबरी भने गरे । मासिरानोले अर्जेन्टिनाका लागि सर्वाधिक १ सय ४७ खेल खेलेका थिए । मेस्सीले पनि पारग्वेविरुद्धको भिडन्तसँगै आफ्नो खेल संख्या १ सय ४७ पुर्याए ।
मासिरानोको कीर्तिमान बराबरी गरेका मेस्सीले अर्को साता आफ्नो नाममा नयाँ कीर्तिमान राख्न सक्छन् । बोलिभियासँगको खेलमा टिममा परे मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् ।
मेस्सीले आफ्नो कीर्तिमान बराबरी गरेसँगै मासिरानोले अर्जेन्टिनाका कप्तानलाई बधाई दिएका छन् । ‘म लियोलाई बधाई दिन चाहन्छु । उनी अर्जेन्टिनाका लेजेन्ड हुन् । अन जितका लागि पूरै टिमलाई बधाई दिन चाहन्छु,’ मासिरानोले भनेका छन् ।
बार्सिलोनाका समेत कप्तान रहेका मेस्सीले अगस्ट १७, २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए । हंगेरीविरुद्धको खेल मेस्सीका लागि यादगार रह्यो । किनभने दोस्रो हाफको ६५ औँ मिनेटमा मैदान प्रवेश गरेको एक मिनेटपछि नै उनले रातो कार्ड पाएका थिए ।
मेस्सी र मासिरोनापछि अर्जेन्टिनाको जर्सीमा सर्वाधिक खेल खेल्ने खेलाडी हाभियर जेनेटी हुन् । इन्टर मिलानबाट क्लब फुटबल खेलेका जेनेटीले अर्जेन्टिनाका लागि १ सय ४३ खेल खेलेका छन् । त्यस्तै भ्यालेन्सिया, एसी मिलान, रियल जारागोजाजस्ता युरोपेली क्लबबाट क्लब फुटबल खेलेका पूर्वरक्षक रोबर्टो आयालाले अर्जेन्टिनाको जर्सीमा १ सय १४ खेल खेल्ने मौका पाए ।
अर्जेन्टिनाबाट सर्वाधिक खेल खेल्ने १० खेलाडी :
१, लियोनल मेस्सी १४७
२, हाभियर मासिरानो १४७
३, हाभियर जेनेटी १४३
४, रोबर्टो आयाला ११४
५, एङखल डि मारिया १०७
६, डिएगो सिमओने १०३
७, सर्जियो अग्वेरो ९८
८, ओस्कार रुग्गेरी ९७
९, सर्जियो रोमेरो ९६
१०, डिएगो म्याराडोना ९१
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया