खेलकुद

नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन भलिबल टोलीबीच काठमाडौँमा दुई मैत्रीपूर्ण खेल हुने

इकागज |
साउन ५, २०८१ शनिबार २०:११ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन भलिबल टोलीबीच काठमाडौँमा दुई मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा दुई टोलीबीच मैत्रीपूर्ण खेल आयोजना हुने जानकारी दिएको हो । नेपालले मैत्रीपूर्ण खेलका लागि अरुणा शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा समेत भइसकेको छ ।


मैत्रीपूर्ण खेलले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए । उनले नेपालको राष्ट्रिय भलिबल टिमलाई थप बलियो र अनुभवी बनाउन मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने उल्लेख गरे ।

त्यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले रसियन टोलीको मैत्रीपूर्ण खेलले अनुभवका साथै सिक्ने अवसर पनि प्राप्त हुने बताए ।

त्यस्तै रसियन भलिबल टोलीका प्रतिनिधिहरूले पनि नेपालसँगको मैत्रीपूर्ण खेलका लागि उत्साहित भएको बताए । 


Author

थप समाचार
x