खेलकुद

अपेक्षाको परीक्षामा पूर्णांक ल्याउन संर्घषरत जोआओ फिलिक्स

इकागज |
असार ९, २०७८ बुधवार ६:२९ बजे

काठमाडौँ : जुन १४, २०१७ मा पोर्चुगल र नर्वेको अण्डर-१८ टिमबीचको खेल चल्दै थियो । पहिलो हाफमा पोर्चुगल १-० ले अघि रहेको अवस्था थियो । दोस्रो हाफमा प्रशिक्षक फेलिपे रामोसले टिमको अग्रपंक्तिमा परिवर्तन गर्ने निधो गरे । र, १७ वर्षिय जोआओ फिलिक्सलाई मैदान प्रवेश गराइयो । उनी पोर्चुगल अण्डर-१८ बाट पहिलो पटक खेल्दै थिए । 

‘सेकेन्डरी स्ट्राइकर’ बनेर खेलिरहेका फिलिक्सले ३५ मिनेटभित्र दुई गोल गरे । उनले पहिलो गोल एकल प्रयासमा गरे । दोस्रो गोल भने पेनाल्टीमा गरे । ‘त्यस खेलपछि सबैको निक्र्यौल थियो, पोर्चुगलले असाधारण युवा प्रतिभा पाएको छ,’ त्यसबेला फिलिक्सको खेल हेरेका जोआकिम मिलहिएरो भन्छन् । मिलहिएरो हाल पोर्चुगल फुटबल संघमा प्राविधिक निर्देशकको भूमिकामा छन् ।    


पोर्चुगल अण्डर-१८ बाट डेब्यु गरेको एक वर्षपछि फिलिक्स बेनफिकाको सिनियर टिमबाट खेलिरहेका थिए । बेनफिकाले २०१८/१९ सिजन लिग जित्दा फिलिक्सले १५ गोल गरे । अनि नौ असिस्टको योगदान पनि गरे । त्यति मात्रै होइन, उनी युरोपा लिगमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छो खेलाडी बने । बेनफिकामा गरेको प्रदर्शनले फिलिक्सलाई बालोन डोरको शीर्ष २८ भित्र पार्‍यो । अन्ततः उनी एथ्लेटिको म्याड्रिडको नजरमा परे । डिएगो सिमओनेको टिम युवा फिलिक्समाथि १२६ मिलियन युरो खर्च गर्‍यो ।

फिलिक्सले स्पेनी ला लिगामा दुई सिजन बिताइसकेका छन् । तर उनले बेनफिकाको जस्तो प्रदर्शन स्पेनमा दोहोर्‍याउन सकेका छैनन् । सिमओनेको टिममा पनि फिलिक्सको पोजिसन उही ‘सेकेन्ड स्ट्राइकर’ नै हो । तर पनि उनीबाट अपेक्षाकृत संख्यामा गोल हुन सकेको छैन । कुल ७६ खेलमा फिलिक्सले १९ गोल गरेका छन् । गत सिजन एथ्लेटिकोले लिग जित्दा उनले सात लिग गोेल गरे । हुन त कतिपयले दोष सिमओनेलाई दिन्छन् । उनीहरूको भनाइ छ, ‘सिमओनेले फिलिक्सको सही उपयोग गर्न सकेका छैनन् वा उनलाई निखार्न सकेका छैनन् ।’

क्लबमा जे जस्तो प्रदर्शन भएपनि फिलिक्सबाट पोर्चुगिज फुटबलले ठूलो आशा राखेको छ । भलै उनलाई पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषले जारी युरोमा खेलाएका छैनन् । हुन त फिलिक्सले यस युरोमार्फत आफूलाई पूरा विश्वमाझ चिनाउने अपेक्षा गरेको हुनुपर्छ । बुधबार राती फ्रान्सविरुद्धको खेल व्यग्ररुपमा पर्खिरहेको हुनुपर्छ । तर क्रिस्टियानो रोनाल्डो, डिएगो जोटा, ब्रुनो फर्नान्डेज, बर्नादो सिल्भा जस्ता अनुभवी खेलाडी भएको पोर्चुगिज अग्रपंक्तिमा फिलिक्सले मौका पाउन सजिलो भने छैन ।

पोर्चुगिज समर्थक २१ वर्षिय फिलिक्सलाई ‘नयाँ रोनाल्डो’ को उपमा दिन्छन् । तर त्यसले फिलिक्समाथि दबाब सिर्जना गर्ने ठम्माई छ, एथ्लेटिकोका पूर्व फरवार्ड डिएगो फोर्लानको । ‘यति चाँडै फिलिक्सबाट ठूलो अपेक्षा राख्दा उनको वृत्ति विकासमा असर पुग्छ,’ गत मेमा फोर्लानले फ्रेन्च समाचार एजेन्सी एएफपीसँग भनेका थिए । 

पोर्चुगलका उमेर समूहका टिममा फिलिक्सको प्रदर्शनले सबैलाई छक्क पाथ्र्यो । फिलिक्सको खेल नजिकबाट नियालिरहेका पोर्चुगिज प्रशिक्षकहरुको निक्र्यौल हुन्थ्यो, ‘उनले भविष्यमा सधैँ यस्तै बलियो लय देखाउन सम्भव छैन’ । फिलिक्स १५ वर्षको हुँदा देखि नै उनको खेल पछ्याइरहेका मिलहिएरो भन्छन्,‘स्वभाविकरुपमा कुनै पनि युवा खेलाडीले प्रत्येक खेलमा उस्तै प्रदर्शन देखाउन सक्दैन । फिलिक्सको खेलमा उतारचढाव देखिन्थ्यो । जुन असामान्य थिएन । त्यसकारण हामी सधैँ फिलिक्सको खेल विकासलाई लिएर धैर्य थियौँ ।’ 

सिमओने आफ्ना खेलाडीबाट बढी नै अपेक्षा राख्छन् । रक्षात्मक फुटबल खेलाउने छवि बनाएका सिमओने आफ्ना सबै खेलाडी बल बिना पनि प्रभावकारी रहुन् भन्‍ने चाहन्छन् । त्यसकारण फिलिक्सले सिमओनेको मनोविज्ञान बुझेर मेहेनत गर्न जरुरी छ । पोर्चुगिज फरवार्ड एथ्लेटिकोको अग्रपंक्ति सम्हाल्न सक्षम छन् । तर त्यसका लागि आफू तयार रहेको सन्देश फिलिक्सले दिनुपर्छ ।

सन् २०१६ मा बेनफिका ‘बी’ मा फिलिक्सका प्रशिक्षक रहेका हेल्दर क्रिस्टोभाओ आफ्ना पूवै विद्यार्थीलाई लिएर आशावादी छन् । ‘फिलिक्स विश्वकका उत्कृष्ट खेलाडीहरूको सूचीमा पर्न सक्षम छन् । हो, हाल उनको आलोचना भइरहेको छ । किनभने उनी एथ्लेटिको जस्तो ठूलो क्लबमा छन् । उनी दबाबमा छन् । तर हामीले के बुझुनु पर्छ भने फिलिक्स अझैँ युवा अवस्थामै छन्,’ क्रिस्टोभाओ भन्छन् । 

फिलिक्स मात्रै होइन, सिमओने पनि ओलोचित बनेका छन् । लिग च्याम्पियन प्रशिक्षक युवा फिलिक्सप्रति उदार हुनुपर्ने फुटबल विश्लेषकहरूको भनाइ छ । गत सिजन फिलिक्स जम्मा ११ लिग खेलमा मात्रै पहिलो एघारमा परे । ला लिगाको उपाधि होड निर्णायक अवस्थामा पुग्दैगर्दा फिलिक्स ‘बेन्च प्लेयर’ बने । उनको स्थानमा सिमओनेले अर्जेन्टिनाका एंगल कोरेआलाई विश्वास गरेको देखियो । 

सिमओनेले किन आफ्ना महंगा खेलाडी फिलिक्सलाई नभई कारेआलाई विश्वास गरे ? यसको उत्तर फिलिक्सको प्रदर्शनसँगै गासिएको मान्छन्, एथ्लेटिकोका पूर्व खेलाडी लुइस गार्सिया । ‘सिमओने सबै खेलाडीले मैदानमा बढी भन्दा बढी मेहेन गरुन भन्‍ने चाहन्छन् । सायद फिलिक्सले सिमओनेलाई प्रभावित गर्न सकेनन्,’ गार्सिया भन्छन् । 

तर फिलिक्सलाई नजिकबाट चिन्‍नेहरू भने पूर्व बेनफिका फरवार्ड मेहेनती रहेको दाबी गर्छन् । कुनैबेला बेनफिकाका स्काउट रहेका जिन कलाउडे अब्बेडौउ, फिलिक्स लजालु स्वभावका भए पनि अभ्यासमा सधैँ पहिले पुग्ने र प्रशिक्षकहरूको माग अनुसार मेहेनत गर्ने खेलाडी रहेको बताउँछन् । उता मिलहिएरो पनि फिलिक्सको स्वभाव पैसा वा प्रख्यातीका पछाडि दौड्ने भन्दा आफ्नो प्रदर्शनमा ध्यान दिने किसिमको रहेको मान्छन् । 

क्रिस्टोभाओले बेनफिकाको एकेडेमीमा कयौँ प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण गराएका छन् । त्यस सूचीमा म्यानचेस्टर सिटीका जोआओ कान्सेलो र सिल्भा पनि पर्छन् । यी दुवै खेलाडीलाई क्रिस्टोभाओ स्किलफुल मान्छन् । ‘कान्सेलो र सिल्भा प्राविधिकरुपमा उत्कृष्ट प्रतिभा हुन् । तर फिलिक्स उनीहरूभन्दा ज्यादा बुद्विमानी छन् । उनी साथी खेलाडी भन्दा दुई कदम अगाडि रहन्छन्,’ क्रिस्टोभाओ भन्छन् । 

फिलिक्सको पहिलो क्लब ओएस पेस्टिनास हो । त्यस क्लबका अध्यक्ष हुन्, पेड्रो मानिएरा । जो फिलिक्सलाई जादुमयी खेलाडी मान्छन् । ‘कतिपय खेलमा फिलिक्सले विपक्षी टिमका पूरै खेलाडीहरूलाई ड्रिबल गर्थे । उनको ग्रोथ जुन हिसाबले भइरहेको थियो, हामी प्रष्ट थियौँ कि उनी हामीसँग धेरै समय रहने छैनन्,’ मानिएरा सम्झन्छन् ।

सिमओने आफ्ना खेलाडीबाट बढी नै अपेक्षा राख्छन् । रक्षात्मक फुटबल खेलाउने छवि बनाएका सिमओने आफ्ना सबै खेलाडी बल बिना पनि प्रभावकारी रहुन् भन्‍ने चाहन्छन् । त्यसकारण फिलिक्सले सिमओनेको मनोविज्ञान बुझेर मेहेनत गर्न जरुरी छ । पोर्चुगिज फरवार्ड एथ्लेटिकोको अग्रपंक्ति सम्हाल्न सक्षम छन् । तर त्यसका लागि आफू तयार रहेको सन्देश फिलिक्सले दिनुपर्छ । उसो त फिलिक्सको लयप्रति एथ्लेटिको पनि धैर्य रहन आवश्यक छ । प्रशिक्षक सिमओनेले खेल रणनीति बनाउँदा फिलिक्सको खेल शैलीलाई पनि ध्यानमा राख्नुपर्छ । दुवै पक्षबाट सम्झौँता भए एउटा युवा प्रतिभा विश्व स्तरिय खेलाडीका परिणत हुन सक्छन् । (एएफपीबाट)


Author

थप समाचार
x